रेडियो नेपालकी प्रथम गायिका अधिकारीको निधन « Arthapath.com
१९ बैशाख २०७७, शुक्रबार

रेडियो नेपालकी प्रथम गायिका अधिकारीको निधन



काठमाडौँ । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । प्रजातन्त्र सेनानी समेत रहेकी उनको बिहीबार राति निधन भएको परिवारजनले बताएका छन् ।

२००७ मा प्रजातन्त्रको स्थापनापछि काठमाण्डुमा रेडियो नेपालको स्थापना गरिएको थियो। केही समयका लागि रानुदेवी पनि काठमाण्डु आएकी थिइन् र सिंहदरबारबाट गीतहरु गाएकी थिइन्। त्यसपछि उनी कोलकाता गएर ६ वटा गीतहरु रेकर्ड गराइन्, जसमध्ये दुइवटा गीत क्रान्तिकारी थिए। रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

संगीतलाई अघि बढाउने इच्छाले उनी बनारस गइन् र म्याट्रिक र आइएमा शास्त्रीय संगीतको अध्ययन गरिन्।

तर घरपरिवारका जिम्मेवारीका कारण संगीतमा स्नातक गर्न नपाएकोमा उनले दुखेसो गर्ने गरेकी थिईन । १६ वर्षको उमेरमा बिराटनगरको मिल्स एरियामा रहेको एउटा सानो स्टुडियोबाट आवाज भरेकी थिईन ।


प्रतिक्रिया दिनुहोस्