राति ओडारको क्वारेन्टाइनमा, दिनभर घरको काममा « Arthapath.com
२० बैशाख २०७७, शनिबार

राति ओडारको क्वारेन्टाइनमा, दिनभर घरको काममा



काठमाडौं ।भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहेका छन्।

उनी हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुगेका थिए । घरमा आएलगत्तै पुनलाई वडा कार्यालयले क्वारेन्टाइनमा बस्नका लागि अनुरोध गरेको थियो। आग्रहबमोजिम उनीसँगै आएका सातजना घर नजिकै रहेको ज्यामिरे ओडारमा गएर बसेका छन्।

अहिले उनीहरु दैनिक ज्यामिरे ओडारबाट आएर दिउँसो घरमा सामाजिक दूरी कायम गरी मल बोक्नेदेखि घरायसी काम गरिरहेका छन्। गाउँघरभन्दा नजिकै रहेको ओडारमा राति सुत्ने र दिनभरि घरको काम गरिरहेको वडाध्यक्ष दीपक रानाले जानकारी दिए। पिपे गाउँकै टार्जन पुनको सातजनाको टोली पनि बैतडीबाट काम गरेर ‘लकडाउन’कै समयमा घर फर्केलगत्तै पिपेस्थित अर्को ओडारमा बसिरहेको छ।

वडा कार्यालयले व्यवस्था गरेअनुसार सो टोली आफूले रोजेरै ओडारमा बसिरहेको टार्जन पुनले जानकारी दिए। अहिले दिनमा सामाजिक दूरीका साथ गोठबाट खेतबारीमा मल बोक्ने राति भएपछि सातजनाको टोली ओडारमा गएर बस्ने गरेको स्थानीय पत्रकार सहदेव बस्नेतले जनाकारी दिए।

चौध दिनसम्म ओडारमा खाना र सुत्ने व्यवस्थासहित बसेर घर फर्कने उनीहरुको भनाइ छ। अहिले जाजरकोटमा बाहिरी जिल्लाबाट फर्केकाहरु राति क्वारेन्टाइनमा बस्ने र दिनमा सामाजिक दूरी कायम गरी घरायसी काममा जुटेको पाइएको छ। कसैले घरमा गहुँ भित्र्याउने काममा जुटेको पाइएको छ भने कतै मकै रोप्ने काममा लागेको देखिन्छ । अहिले धानको बीउसमेत राख्ने समय भएकाले खेतमा समेत देख्न सकिन्छ। जिल्लामा धेरै मानिस भित्रिएका कारण क्वारेन्टाइन भरिभराउ भएसँगै ओडारमा समेत व्यवस्थापन गरिएको स्थानीय सरकारले बताएका छन्।

जिल्लाभरि रहेका विद्यालय क्वारेन्टाइनका लागि मुख्य थलो भएका छन्। विद्यालयका डेष्क, बेन्च हटाएर सामाजिक दूरी कार्य गरी बाहिरबाट आएका मानिस राखिएको छ। भेरी नगरपालिकाले सदरमुकामस्थित त्रिभुवन माविलगायत विद्यालयका क्वारेन्टाइन बनाएका छ।

नलगाड नगरपालिकाले त्रिभुवन मावि दल्लीलगायत अन्य ठाउँमा क्वारेन्टाइन निर्माण गरेर मानिस व्यवस्थापन गरेको छ। त्यस्तै बारेकोट गाउँपालिकाले वीरेन्द्र ऐश्वर्य मावि लिम्सा, सरस्वती मावि सिलिङ्गीचौरदेखि अन्य सबै वडामा रहेका विद्यालयमा क्वरेन्टाइन निर्माण गरी १७६ जनालाई क्वारेन्टाइनमा राखेको छ।रासस


प्रतिक्रिया दिनुहोस्