किट अभावले जुम्लामा सुरु भएन कोरोना परीक्षण « Arthapath.com
२१ बैशाख २०७७, आईतवार

किट अभावले जुम्लामा सुरु भएन कोरोना परीक्षण



सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको पीसीआर मेसिन सञ्चालनमा आउन सकेको छैन ।

पीसीआर मेसिन जडान गरिए पनि किट अभावले सञ्चालन आउन नसकेको प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ एवं अस्पताल निर्देशक डा। मङ्गल रावलले जानकारी दिए । उनका अनुसार गएको मङ्गलबार प्रतिष्ठानले कोरोना भाइरसको परीक्षणका लागि पीसीआर मेसिन जडान गरेको थियो ।

मेसिन सञ्चालनका लागि जनशक्ति सबै तयार रहेको भन्दै उनले किट आउनेबित्तिकै परीक्षण शुरु गर्ने बताए । यहाँको पीसीआर मेसिन ठूलो क्षमताको भएकोले यसले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्नेछ ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले प्रतिष्ठानका पूर्वउपकूलपति डा‍। पारसकुमार आचार्यको सहयोगमा सुर्खेतमा २०० किट आइपुगेको र त्यो लिनका लागि आजै प्रतिष्ठानको जनशक्ति सुर्खेत हिँडेको बताए ।

रजिष्ट्रार काफ्लेले प्रतिष्ठानले २७ लाख रुपैयाँमा पीसीआर मेसिन खरिद गरेको बताए । उनका अनुसार मेसिन सञ्चालन नहुँदा अहिले जुम्लामा कोरोना शङ्कास्पद व्यक्तिहरूको शुरुमा आरडीटी परीक्षण गर्ने र थप शङ्कास्पद भएमा पीसीआर जाँचका लागि सुर्खेत पठाउने गरिएको छ । किट आउनेबित्तिकै परीक्षण कार्य तीव्र बनाउने प्रतिष्ठानले जनाएको छ ।रासस


प्रतिक्रिया दिनुहोस्