सम्झनामा सै ढोले सै अर्को ढोले खै « Artha Path
२५ बैशाख २०७७, बिहीबार

सम्झनामा सै ढोले सै अर्को ढोले खै



राजेश चाम्लिङ

सामान्य अवस्था हुन्थ्यो भने वैशाख २५ वा आजको यो बेला ललितपुरको हात्तिवनस्थित माङखिममा पूजा भएर ठूलो तामझामका साथ साकेला नाचिँदै गरेको भइन्थ्यो । तर विश्वभर फैलिएको कोरोना भाइरसको कारण त्यो भएन । तर पनि यो बेला साकेलाका सम्झनाहरु भने ताजा भएर आइरहेको छ ।

राजधानी प्रवेश गरेको दुई दशक वित्दै गर्दा गाउँमा मनाईने साकेला र शहरका केहि रमाईला अनुभवहरु गरिएको छ । २०५७ या ०५८ सालतिरको त्यो समय सायद उभौलिको याम थियो । रत्नपार्क छेऊबाट साकेलामा बज्ने जस्तै ढोल झ्याम्टाको ताल सुनेपछि काठमाडौमा पनि साकेला नाचिन्छ र ! भन्ने सोचेर एक पटक त होइन कि जस्तो लाग्यो । तर हो नै भन्ने ठहर गरेपछि अचम्म मान्दै आवाज आएतिर लागियो ।

खुलामञ्चमा किराती बालबच्चा, युवा तथा वृद्धाहरु एकै ठाऊँ गोलाकार भएर साकेला नाचिरहेका थिए । पूर्वी पहाडि जिल्ला खोटाङबाट भर्खर भर्खर शहर छिरेको निक्खुर गाउँले ठिटोलाई त्यहीँ लहरमा मिस्सिएर जुरुक्कै खुलामञ्च उचाल्नेगरी ‘चोलिया सिउनु कुमकुमको, भेटभयो आज थुम थुमको’ गाउन कम्ति जोश चलेको थिएन । तर त्यहाँ साथ दिने न त गाउँका दौँतरी कोहि थिए न त चिनेजानेका नै । न त कसैले ‘ल आउँ न शिली टिप तिमी त शिलीमपा पो हो त १’ भनेर आग्रह गरे न त कसैले ‘लु लु हामीले जानेनौँ आउनुस सिकाउन’ नै भने ।

मनको रहर मनमै राखेर बाहिरी लहरबाटै अरु नाचेको हेर्दै बसियो । घण्टौँ हेरिहँदा अधिकांश सुकिला मुकिला युवाले ‘शिली टिप्न’ नजानेको देखेर मनमनै हाँसो पनि उठ्थ्यो । ‘म भएको यसरी नाँच्थे, यसरी ढोल बजाउँदै दौँतरीहरुसँग उफ्रन्थ्येँ’ भन्ने कल्पना गर्दै त्यो सालको साकेला त्यतिकै बित्यो ।

त्यसबेला साकेला नाच्न नपाउँदा कुँडलिएको मन लिएर बानेश्वर डेरा फकिर्एको सम्झँदा अहिले नरमाईलो लाग्छ । बिडम्बना यसपटक पनि फेरि उस्तै हुने भयो विश्वभर फैलिएको कोभिड–१९ को कारण साकेला नाच्न नपाईने भयो । सामूहिक जमघट हुन नसकिने यो अवस्थामा सयौँ जना हारमा हार मिलाएर हातमा चमार, शिर्लिङ लिँदै ढोलझ्याम्टाको तालमा नाचिने साकेला सम्भव हुने कुरै भएन ।

किरातीहरुका सामाजिक सँस्थाहरुले यसपटक शहरहरुमा सामूहिक साकेला ननाच्ने घोषणा गरिसकेका छन् । गाउँघर पनि यसबाट अछुतो छैन । कोभिड महामारी नहुँदो हो त यतिबेला पूर्वी पहाडी जिल्लाको अनुहार नै फरक हुने थियो । त्यहाँका वस्तीहरु दिनदिनै साकेला नाचिरहेका हुन्थ्ये । प्रत्येक घरमा आलैपालो साकेला नाचिन्थ्यो । तर संसार नै निल्नेगरी फैलिरहेको कोभिडको कारण यो वर्ष त्यस्ता दृश्यहरुको स्मरण गर्दै बस्नुको विकल्प रहेन ।

साकेला किरातीहरुको सबभन्दा महत्वपूर्ण चाड हो । २०५८ सालमा किरात राई यायोक्खा, किरात याक्थुम चुम्लुङ, किरात याख्खा छुम्मा र सुनुवार सेवा समाजको आग्रहमा सकारले यसलाई राष्ट्रिय चाडको मान्यता दिएको थियो । त्यसयता उधौली र उभौलीगरी वर्षको दुई पटक मनाईने यो चाडको अवसरमा सार्वजनिक विदा पनि दिँईदै आईएको थियो । तर पछिल्लो पटक सरकारले अन्य थुप्रै विदासँगै यसको विदा पनि कटौति गरेको छ ।

यो चाड मुख्यत प्रकृति र पितृहरुको सम्मानसँग सम्बन्धित छ । साकेला नाच्दा प्रयोग हुने ‘शिली’ (नृत्यका तौरतरिका), उच्चारण गरिने मुद्दुम, पूरा गर्नुपर्ने विधिविधानको विश्लेषण गर्दा यो तथ्य स्पष्ट हुन्छ । किराती भाषाहरुमा यसको आ–आफ्नै नाम भए पनि सामूहिक रुपमा उनीहरुले प्रत्येक वर्षको वैशाखे पूर्णेलाई ‘उभौली’ र मंसिरे पूर्णेलाई ‘उधौली’ भन्दै आएका छन् । यो अन्न लगाउने बेला र उठाईसकेपछिको समय हो ।

कृषि प्रणालीमा आधारित जीवन पद्धती अंगालिरहेका किरातीहरु वैशाखमा अन्नबाली सप्रियोस, दुःख विमार नलागोस् भन्ने कामना गर्दै प्रकृति र पितृहरुसँग बल माग्छन् । मंसिरमा भने त्यस वर्षका लागि राम्रो गरिदिएकोमा धन्यवाद दिइन्छ । अन्न भित्र्याएपछि पहिलो भाग पितृहरुलाई सुम्पनुपर्छ भन्ने मान्यताका साथ उनीहरुलाई चढाएपछि मात्र नयाँ अन्न चलाईन्छ । यसै अवसरमा हर्षोल्लास मनाउनका लागि साकेला नाच्ने गरिन्छ । वातावरणीय हिसावले पनि उभौली याम शुरु भएपछि गर्मी बढ्छ । यसपछि सबै चराचर जगत उच्च भेग ९लेक०तर्फ आकर्षित हुन्छन् । भने उधौली याम शुरु भएपछि जाडो शुरु हुनेहुनाले उनीहरु न्यानो खोज्दै समथर भूभाग ९बेसी०तर्फ झर्छन् । यसअर्थमा यो चाड कुनै समय समयमापक वा क्यालेण्डरको रुपमा पनि प्रयोग भएको अनुमान लगाउन सकिन्छ ।

जे होस, कोभिडले संसारलाई त्राहिमाम नपारेको भए विगत १५ दिन अगाडिदेखि किराती वस्तीहरुमा छुट्टै साँस्कृतिक रौनक देखिन्थ्यो । त्यसो त बसाई सराई, वैदेशिक रोजगार, आधुनिक जीवन शैलीका कारण साकेलाको सौन्दर्य पनि फेरिँदो छ । पछिल्लो दुई तीन दशकमै पनि यससँग सम्बन्धित सम्झनाहरुको रुप फेरिँदो छ ।

नाच्नुभन्दा हप्ता दशदिन अगाडिदेखि गाउँका अगुवा पुरुषहरु भेला भएर पूराना ढोल मर्मत गर्ने र नयाँ ढोल काट्ने दिनको टुङ्गो लगाउने जस्ता भेलाहरुमा सहभागी हुन्थ्यो । अग्रज महिलाहरु साकेलाको लागि छुट्टै जाँड पकाउँथ्थे ।

हामी बाल्यअवस्थामा हुँदा साकेलाको दिन आउनुभन्दा हप्तौँ पहिले हाम्रा अग्रजहरु दिनभर मेलापात गरिसकेपछि रातीराती गाउँको कुनै साझा स्थानमा भेला भएर साकेला नाच्थे । वल्लो गाउँ पल्लो गाउँका युवाहरु भेला हुने त्यस्तो अबसरमा भर्खरका हामी जस्ता बालबालिकाहरु जानीनजानी उहाँहरुलाई पछ्याउँथ्यौँ । हाम्रो उदेश्य शिली सिक्नु हुन्थ्यो । भने कतिपय अग्रजहरुको लागि सामाजिक मान्यताभन्दा बाहिर नगई आफ्नो जोडी छनौट गर्ने यो सुनौलो अवसर पनि हुन्थ्यो । यस्तोबेला सबैभन्दा राम्रो ‘शिली टिप्न’ ९ नाच्ने शैली० जान्ने व्यक्ति सबैको छनौटमा पर्नु स्वाभाविक नै हुन्थ्यो । यसै मेसोमा युवाबीच को बढि जन्ने भनेर नजाँनिदो प्रतिष्पर्धा हुन्थ्यो ।

हाम्रो गाऊँ खोटाङ बुईपाको गैरी फुलेलीमा साकेलाको अन्तिम दिन हाम्रै मूलघरबाट नछुङ (धामी) निस्कन्थ्यो । हाम्रो घरबाट निक्कै कान्ला पार गरेर तल साकेला थान झर्दा युवा काँधमा ढोल भिरेर जमिनै भास्सिनेगरी फालहान्थे । ठाऊँठाऊँमा रोक्किएर सामुहिक नाचिन्थ्यो । त्यसबेला कहिले आफू पनि यसरी नै उफ्रिन सक्ने होला ! त्यो दिन कहिले आउला जब म पनि काँधमा ढोलभिरेर ती दाइहरुजस्तै ‘सै ढोले सै अर्को ढोले खै !’ भन्न सकुँला भन्ने खुब छटपटी चल्थ्यो । उनीहरु त्यसरी उफ्रिँदै साकेला थान झरेको भोलिपल्टदेखि गाउँमा ढोल झ्याम्टा बजाउन बन्द हुन्थ्यो । भूलेर पनि अरुबेला बजाउनु हुँदैन नत्र ‘देउता रिसाउँछ’ भनिन्थ्यो । (अपवाद विवाहमा भने बजाईन्छ) । अनि अर्को वर्ष त्यस्तै उफ्राई कहिले आउँला हँरु भन्ने प्रतीक्षा सम्झेर पनि दिक्क लाग्नेगरी थकित हुन्थ्यो ।

केहि समयपछि त्यो समय पनि आयो । तर दुई सालभन्दा बढि त्यसो गर्न पाईएन । जिउनका लागि नयाँ अवसर खोज्ने क्रमममा शहर छिरियो । सँगैका कयौँ युवा कोहि शहर छिरे, कोहि खाडी गए, कोही यूरोप त कोहि अमेरिका हान्निए÷हान्निरहेका छन् । त्यसैले गाउँमा आजभोलि त्यसबेला जस्तो रौनक सायद हुँदैन । बरु विदेशीएका ती परदेशीहरु जहाँ जहाँ पुगेका छन् । त्यहाँ त्यहाँ साकेला पनि पुगेको छ । कतारमा होस या अमेरिकामा, अष्टे«लियमा होस् वा साउदीमा आजभोलि जहाँतँही साकेला नाचिन्छ । त्यो पनि नेपालबाटै ढोलझ्याम्टा लगेर । वर्षको दुई पटक मात्र बजाईने ढोलझ्याम्टा शहरमा आजभोलि जुनसुकै शुभकार्यमा जतिसुकै बेला पनि बजाउन थालिएको छ । गाउँ युवा विहीन भएपछि रातीराती भेला भएर नाच्ने क्रम पनि करिब बन्द छ ।

शहरमा त यो बेला सामूहिक भेला भएर धित मरुञ्जेल नाच्न सकिने अवस्था छैन नै गाउँमा पनि त्यस्तो अवस्था रहेन । केहि दिनअघि बालसखा किरणले फोन गरेर भने, ‘राजेश तिमीहरु हिंडेपछि त्यसै त गाउँको साकेला नरमाईलो लाग्थ्यो । यो पटक त झन नरमाईलो हुने भयो ।’ साउदी पुगेर फर्किएपछि तीन चार वर्ष यता गाउँमै रमाईरहेका किरणको कुरा सुनेर मनमनै सम्झिरहेको छु ।
‘सानो सानो है कुखुराको हाहाई भालेलाई रेटौँला, ए है स्यामुना !’
‘मरि गए है जे त होला, बाँचे अर्को साल भेटौँला, ए है स्यामूना !’ रासस


प्रतिक्रिया दिनुहोस्