थप एक जनामा कोरोना संक्रमण, संक्रमित संख्या पुग्यो ११० « Arthapath.com
२७ बैशाख २०७७, शनिबार

थप एक जनामा कोरोना संक्रमण, संक्रमित संख्या पुग्यो ११०



काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकी महिला ४३ वर्षीया रहेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिइन् ।

यससँगै शनिबार थपिएका संक्रमितको संख्या ८ पुगेको छ । आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ।

संक्रमितमध्ये ३१ जना निको भएर डिस्चार्ज भएका छन्। ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सात जनामा कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ र प्रदेश नम्बर ५ मा ३० र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित हुन्।

शनिबार रिपोर्ट पोजिटिभ देखिएका सातजना उदयपुर, कपिलवस्तु र पर्साका हुन्। उदयपुर भुल्के निवासी १८, ४५ र ५६ वर्षीया महिला र कपिलवस्तुका १७ वर्षका एक, १८ वर्षका दुई पुरुषसँगै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो। उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ।

शनिबारसम्म पीसीआर १६ हजार तीन सय ९ जनाको नमुना परीक्षण भएको छ भने आरडीटी विधिबाट ५५ हजार ९ सय ३० जनाको नमुना परीक्षण भएको छ। अहिले १४ हजार पाँच सय ९२ क्वारेन्टाइनमा छन् भने उपत्यकामा दुई र बाहिर १४१ गरेर आइसोलेसनमा १४३ जना छन्।


प्रतिक्रिया दिनुहोस्