थप दुई कोरोना सङ्क्रमित निको भई घर फर्किए

विराटनगर । अआईतवार दुईजना कोरोना संक्रमित निको भएर घर फर्किइएका छन् । विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा बैशाख १३ गते भर्ना भएका भोजपुर हतुवागडी गाउँपालिका–६ का उपेन्द्र चाम्लिङ र १४ गते भर्ना भएका झापा बाह्रदशीको ४० वर्षीय मुजाइर आलाम आइतबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
उनीहरुलाई चिकित्सकको सिफारिसका आधारमा डिस्चार्ज गरेर होम क्वारेन्टाइनमा बस्ने गरी पठाइको हो । अस्पतालमा शनिबार र आइतबार भर्ना गरिएका चार जनासहित पुराना सङ्क्रमित १४ गरी १९ जनाको उपचार भईरहेको छ । दुई जनासंगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या ३१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म करिब ७३ हजार नमुना परीक्षण सम्पन्न भएको जनाएको छ ।
मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. विकास देवकोटाले र्यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) र पीसीआर परीक्षणबाट ७३ हजार ५५५ नमुना परीक्षण भएको जानकारी गराएका हुन् । पछिल्लो २४ घण्टामा १ हजार ३१६ वटा परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
उनका अनुसार आरडिटी विधिबाट ५६ हजार ६५७ र पीसीआर विधिबाट १६ हजार ८९८ गरी कुल ७३ हजार ५५५ वटा नमुना परीक्षणहरु सम्पन्न भएका छन् ।
देशभरको सबै जिल्लामा आरडिटी विधिबाट परीक्षण भइरहेको छ भने १८ स्थानबाट पीसीआर परीक्षण भइरहेको छ ।
हाल १३ हजार ६२५ जना क्वारेन्टाइनमा रहेका छन् भने उपत्यका भित्र ३ र उपत्यका बाहिर १६१ जना गरी १६४ जना आईसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा अहिलेसम्म ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ७८ जना पुरुष र ३२ जना महिला रहेका छन्
त्यसमध्ये प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ३१, बाग्मती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० र सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको छैन् ।
जसमध्ये ३१ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी ७९ जनाको विभिन्न हस्पिटलमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । उपचारमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताएका छन् ।