लकडाउनमा थपियो ९१ अर्ब निक्षेप

यही अवधिमा सरकारले बजारबाट १ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठायो
काठमाडौँ । कोरोना (कोभिड–१९) को जोखिमबाट बच्न सरकारले गरेको लकडाउन अवधिमा बैंक तथा वित्तीय संस्थामा करिब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यो चैत ११ देखि वैशाख २७ सम्म बैंक तथा वित्तीय संस्थामा संकलित निक्षेप हो । लकडाउनका कारण गत शुक्रबारसम्म प्रायस् बैंक तथा वित्तीय संस्था बन्द थिए । केही शाखा आलोपालो गरी दैनिक २/३ घण्टा खुले पनि सीमित बैंकिङ (निक्षेप संकलन, पैसा झिक्नेलगायत सामान्य बैंकिङ) बाहेक अन्य कारोबार भएको थिएन ।
राष्ट्र बैंकका अनुसार गत चैत ११ मा ३५ खर्ब ९४ अर्ब रुपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेर वैशाख २७ सम्म ३६ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । लकडाउन अवधिमा अत्यावश्यकबाहेक आर्थिक गतिविधि बन्द थिए । खाद्यान्न, खानेपानी, औषधिलगायत अत्यावश्यक गतिविधि भने लकडाउनमा पनि चले । यो अवधिमा ती क्षेत्रबाट बैंक तथा वित्तीय क्षेत्रमा राम्रो निक्षेप संकलन भएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘खाद्यान्न, औषधि, औषधिजन्य औजार उपकरण खरिदबिक्री व्यवसायले राम्रो आम्दानी गरेका छन्,’ उनले भने, ‘उपभोक्ताले उपभोगमा खर्चेको पैसा पनि व्यवसायीमार्फत बैंकमा आएको छ ।’
चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाले निक्षेपमा रहेको रकमको ब्याज सम्बन्धित खातामा हालिदिएकाले पनि निक्षेप धेरै बढेको हुन सक्ने बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘चैत मसान्तमा त्रैमासिक रुपमा ब्याज गणना भयो, रेमिट्यान्समार्फत केही पैसा आयो । यसले निक्षेप बढायो,’ उनले भने ।
लकडाउन अवधिमा निक्षेप बढे पनि बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह खासै बढेको छैन । सो अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह करिब २६ अर्ब रुपैयाँ मात्र बढेको राष्ट्र बैंकको तथ्यांक छ । चैत ११ मा ३२ खर्ब १८ अर्ब रुपैयाँ रहेको कुल कर्जा वैशाख २७ सम्म बढेर ३२ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा अत्यावश्यकबाहेक सबै कामकाज रोकिएकाले कर्जा प्रवाह नभएको राष्ट्र बैंकले जनाएको छ । वैशाख १४ सम्म बैंक तथा वित्तीय संस्थाको कूल कर्जा प्रवाह ३२ खर्ब ४८ अर्ब रुपैयाँ थियो । त्यसपछिका १५ दिनमा लगानीमा रहेको कूल कर्जा करिब १६ अर्ब रुपैयाँ घटेको छ । यसको अर्थ सो अवधिमा केही कर्जा असुली भएको भन्ने हो । गत चैतमा मात्र करिब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
नयाँ वर्ष ०७७ सुरु भएसँगै बैंक तथा वित्तीय संस्थाको नयाँ कर्जा प्रवाह स्थिर जस्तै छ । लकडाउनका कारण ऋणीको माग नआएपछि नयाँ कर्जा प्रवाह रोकिएको बैंक तथा वित्तीय संस्थाको भनाइ छ । कर्जा प्रवाह नभए पनि बैंक तथा वित्तीय प्रणालीमा ३८ अर्ब रुपैयाँ अधिक तरलता ९लगानीयोग्य रकम० रहेको राष्ट्र बैंकले जनाएको छ ।
लकडाउनकै अवधिमा सरकारले १ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गरेको छ । यसमध्ये चैत अन्तिम साता मात्र ५५ अर्ब रुपैयाँ उठाएको थियो । यो वर्ष सरकारले १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सरकारले बजेटको अर्धवार्षिक समीक्षामा राजस्व लक्ष्य संशोधन गरे पनि आन्तरिक ऋण प्राप्ति यथावत् नै राखेको छ ।
वैदेशिक बचतपत्रबाट १ अर्ब रुपैयाँ संकलन भए अरू उपकरणबाट १ खर्ब ९४ अर्ब रुपैयाँ उठाइने राष्ट्र बैंकको योजना छ । जसमध्ये यो वर्षबाट सबै त्रैमासमा वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरिरहेको छ । वैदेशिक रोजगारीमा गएका धेरैलाई समेट्ने उद्देश्यले अर्थ मन्त्रालयको निर्देशनअनुसार राष्ट्र बैंकले वर्षभरि नै बचतपत्र बिक्री खुला गरेको हो ।
राष्ट्र बैंकले तीन चरणमा साउनदेखि पुससम्म २० करोड, माघदेखि चैतसम्म ४० करोड र चैतदेखि असारसम्म ४० करोड रुपैयाँबराबरको बचतपत्र निष्कासन गर्ने योजना बनाएको छ । जसमध्ये पुससम्म २० करोडको बचतपत्र निष्कासन भएकामा करिब १९ लाख २० हजार रुपैयाँको मात्र बिक्री भएको थियो ।कान्तिपुर