अब संसदभित्र फेसबुक युट्युब नचल्ने « Arthapath.com
१४ श्रावण २०७७, बुधबार

अब संसदभित्र फेसबुक युट्युब नचल्ने



काठमाडौं । संघीय संसद सचिवालयमा फेसबुक, युट्युब लगायत अन्य सामाजिक सञ्जाल बन्द गरिएको छ । संसदमा दिउँसोको समयमा नचल्ने बनाइएको तर, सधैंका लागि नभएर आकस्मिक रुपमा केही दिनका लागि मात्रै बन्द हुने संसद सचिवालयले जनाएको छ ।

सचिवालयको सूचना प्रविधि शाखाका कम्युटर अधिकृत जगदिश न्यौपानेका अनुसार इन्टरनेटको गति सुस्त भएकाले र युट्युब र फेसबुक प्रयोगकर्ता बढी हुँदा अन्य काम गर्न बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म युट्युब र सामाजिक सञ्जाल बन्द गरिएको सचिवालयले जनाएको छ । ‘कार्यालय समय सुरु भएको एक घण्टा पछिदेखि दिउँसो ३ बजेसम्म युट्युब र फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गरेका छौं’ न्यौपानेले भने ।

युट्युब र सामाजिक सञ्जाल नै चाहिएको वा यसैबाट सूचना आदनप्रदान गर्नुपरेको भनी जानकारी गराएमा त्यस्ता व्यक्तिलाई चलाउन दिने व्यवस्था गर्ने उनले बताए ।
उनका अनुसार मंगलबारदेखि संसद सचिवालयको सर्भरमा दिउँसोको समयमा युट्युब र सामाजिक सञ्जाल नचल्ने बनाइएको छ । संसद सचिवालयको सर्भरमा दैनिक ५०० को हाराहारीमा प्रयोगकर्ता रहने गरेका छन् ।

‘कुनै औपचारिक निर्णय भएको होइन । तर, दिउँसोको समयमा फेसबुक र युट्युब बन्द गराउँदा अहिलेको ब्याण्डविथले भ्याउँछ कि भनेर परीक्षण सुरु गरेका हौं’ न्यौपानेले भने, ‘निश्चित समयको परीक्षण र प्रतिक्रिया हेरेर थप निर्णय हुन्छ ।’


प्रतिक्रिया दिनुहोस्