डेढ महिनामा ३६ करोडको मास्क र ३० करोडको स्यानिटाइजर भित्रियो
काठमाडौं । कोरोना भाईरस (कोभिड १९) को महामारीसँगै नेपालमा मास्क तथा स्यानिटाइजरको आयातमा वृद्धि भएको छ । महामारी फैलिएसँगै मास्क र स्यानिटाइजरको आयातमा वृद्धि भएको भन्सार विभागका निर्देशक शिशिर घिमिरेले जानकारी दिनुभएको छ ।
विभागका निर्देशक घिमिरे भन्नुहुन्छ, “कोरोना महामारीसँगै मास्कको आयातमा वृद्धि भएको सहजै देखिन्छ । कोरोना महामारीमा डेढ महिनाको अवधिमा मात्र नेपालमा २९ करोड ५० लाख रुपैयाँ बराबरको स्यानिटाइजर आयात भएको छ ।”
चैतदेखि असारसम्मको अवधिमा बढी मात्रामा स्यानिटाइजर आयात भएको र सो अवधिमा ५ सय ९२ मेट्रिक टन स्यानिटाइजर आयात भएको छ । नेपालले कोरोना भाइरसको महामारी शुरु भएसँगै चीन, भारत, अमेरिका लगायतका मुलुकबाट स्यानिटाइजर आयात गरेको हो ।
गत जेठ १५ भन्दा अगाडि भन्सार विभागले मास्क तथा स्यानिटाइजरको छुट्टै तथ्यांक सार्वजनिक गर्ने गरेको थिएन । यद्यपि जेठ १५ गते नयाँ आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट सार्वजनिक भएसँगै मास्कको विशेष तथ्यांक बनाउन थालेको छ ।
विभागका अनुसार, गत जेठ १५ पछि असार मसान्तसम्ममा नेपालमा ७३ मेट«िक टन मास्क आयात भएको छ । अहिलेसम्मको तथ्यांकमा ३५ करोड ८० लाख रुपैयाँ बराबरको मास्क आयात भएको निर्देशक घिमिरेले बताउनुभयो ।
गत असार मसान्तसम्ममा नेपालले चीनबाट सबैभन्दा धेरै ३४ करोड ९२ लाख रुपैयाँ बराबरको ६७ हजार ८ सय ३३ किलो मास्क आयात गरेको छ ।
विभागका अनुसार सोही अवधिमा भारतबाट ३८ लाख २७ हजार रुपैयाँ बराबरको ४ हजार ८ सय १० किलो मास्क आयात भएको छ ।
म्यानमारबाट ३ लाख ७८ हजार रुपैयाँ बराबरको मास्क आयात भएको छ भने कोरियाबाट १८ लाख ७१ हजार रुपैयाँ, ताइवानबाट ११ लाख ४४ हजार, हङकङबाट ८ लाख ५७ हजार रुपैयाँ बराबरको मास्क आयात भएको छ ।