भदौ १६ गतेपछि मात्रै शैक्षिक संस्था खुल्ने,कडाई गरियो सीमा नाका
काठमाडौं । भदौ १ गतेदेखि शैक्षिक संस्थाहरु खोल्ने सरकारको निर्णय कोरोना भाईरस संक्रमण बृद्धि हुन थालेपछि भदौ १६ गतेपछि मात्रै खोल्ने निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषदको बैठकले शैक्षिक संस्थाहरु भदौ १६ गतेदेखी सञ्चालन गर्ने निर्णय गरेको छ । भदौ १६ गते पछि पनि कोरोना संक्रमणको अवस्था हेरेर खोल्ने निर्णय गरेको बैठकमा सहभागी भएका एक मन्त्रीले जानकारी दिए ।
यस अघि बसेको मन्त्रिपरिषदको बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि खोल्ने निर्णय गरेको थियो ।
यस्तै, सरकारले सीमा नाकामा थप कडाई गर्ने भएको छ । मन्त्रिपरिषदको बैठकले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ ।