स्मार्ट कार्डमार्फत यातायात भाडा तिर्न मिल्ने

काठमाडौं । स्मार्ट कार्डमार्फ यातायातको भाडा तिर्न सकिने भएको छ । यस्तो ब्यवस्था सुन्दर यातायात प्रालिले गरेको हो ।
सुन्दर यातायातले काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालन गरिरहेकोले आइपे प्रालिसँग सहकार्य गरेको छ । सार्वजनिक यातायात सहित अन्य सम्पूर्ण साना तथा ठूला यातायातमा जडान गरी सञ्चालन गर्न सकिने इ–पेमेन्ट सर्वसुलभ मूल्यमा र सरल तरिकाले प्रयोग गर्न मिल्ने विद्युतीय स्मार्ट कार्ड आइतवारबाट सञ्चालनमा ल्याएको हो ।
सुन्दर यातायात प्रालिका प्रशासन प्रमुख सरिता योगीका अनुसार उक्त कार्डमार्फत जुनसुकै प्रकारका सवारी साधनमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने छ ।
यो कार्डमा कुनै पनि डिजिटल पेमेन्टबाट भुक्तान गर्न सकिने छ । यो कार्ड जडान गरेको यातायात, स्टेसनरी, डिपार्टमेन्ट स्टोर र ई–सेवाबाट अनलाइन खरीद गर्न मिल्ने छ । सरकारले ल्याउन लागेको डिजिटल प्रणालीमा मिल्नेगरी बजारमा आएको छ । यो इ–पेमेन्ट देशव्यापी संचालनमा ल्याइने सुन्दर यातायातले जनाएको छ ।
साधारण व्यक्ति, विद्यार्थी, अशक्त सबैले अलग अलग प्रयोग गर्न मिल्ने उक्त कार्ड २ सय र ५ सयमा खरीद गरेपछि जुनसुकै डिपार्टमेण्ट स्टोर, स्टेसनरी सबैतिर प्रयोग गर्न मिल्ने छ । कार्डको अवधि १ वर्ष रहने छ । २ सय रुपैयाँमा खरीद गरेको कार्डले २५० रुपैयाँ सम्मको यात्रा गर्न मिल्ने छ ।