क्वारेन्टिन होटलको सूची र मूल्य सार्वजनिक « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

क्वारेन्टिन होटलको सूची र मूल्य सार्वजनिक



काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने भएको छ । तर उद्धार गरिएका नेपालीले काठमाडौंमा ७ दिनसम्म होटलको क्वारेन्टीनमा बस्नुपर्ने भएको छ ।

सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागलाई उपलब्ध गराएको होटलको ३ हजार ५०० शय्या क्षमता रहेको बताईएको छ ।

होटल व्यवसायी महासङ्घ, होटल एसोसियसन तथा व्यवसायीसँग छलफल गरेर क्वारेन्टिन होटलको सूची सार्वजनिक गरिएको छ ।

पाँच तारे होटलमा एकल रु ९ हजार र २ जना साझेदारीमा बस्नेका लागि प्रतिव्यक्ति रु ६ हजार तोकिएको छ । यस्तै चारतारे होटलमा एकल रु ८ हजार र २ जनाको हकमा प्रतिव्यक्ति रु ५ हजार ५००, तीनतारे तथा डिलक्स रिसोर्टमा १ जनाको रु ६ हजार र २ जनाको हकमा प्रतिव्यक्ति रु ५ हजार, २ तारेमा एकल रु ५ हजार र २ जना भएमा प्रतिव्यक्ति रु ३ हजार ५००, एकतारेमा एकल रु ४ हजार र २ जना भएमा प्रतिव्यक्ति रु २ हजार ५०० तथा पर्यटकस्तरको होटलमा एकल रु २ हजार ८०० र २ जना भएमा प्रतिव्यक्ति रु १ हजार ८०० शुल्क तोकिएको छ ।

पर्यटकीय क्षेत्र ठमेल, ताहाचल, गौशाला, बत्तिसपुतली, दरबारमार्ग, सानो गौचरन, नक्साल, भक्तपुर, लाजिम्पाट, गोदावरी, कमलादी, स्वयम्भू, झम्सीखेल, बूढानीलकण्ठ, लैनचौर कमलपोखरी र बागबजार क्षेत्रमा होटललाई क्वारेन्टिनका रूपमा प्रयोग गरिने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्