आज १४४ औं जयपृथ्वी जयन्ती, मानवतावादको सन्देश फैलाउँदै विश्व भ्रमण गर्ने पहिलो नेपाली « Artha Path
७ भाद्र २०७७, आईतवार

आज १४४ औं जयपृथ्वी जयन्ती, मानवतावादको सन्देश फैलाउँदै विश्व भ्रमण गर्ने पहिलो नेपाली



काठमाडौं । आज १४४ औँ जयपृथ्वी जयन्ती रहेको छ । बझाङमा जन्मिएर विश्वभर मानवताको सन्देश फैलाएका मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४४ औं जन्म जयन्ती हो ।

नेपाली भाषा साहित्य, शिक्षा, पत्रकारिताका क्षेत्रमा उनको महत्वपूण देन रहेको छ । जयपृथ्वीलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने माग राख्दै आएको लामो समयसम्म पनि सरकारले वास्ता नै गरेको छैन् ।

१९३४ साल भदौ ७ गते बझाङको राजपरिवारमा जन्मिएका जयपृथ्वीले नेपालमा सामाजिक सुधारमा लागेसंगै देश निकाला हुनु परेको थियो ।

मानवतावादको सन्देश फैलाउँदै विश्व भ्रमण गर्ने पहिलो नेपाली पनि जयपृथ्वी बहादुर सिंह नै रहेका छन् । १९५६ सालमा बझाङमा अदालत स्थापना गरेर न्यायिक सुधारका लागि समेत पहल गरेका थिए । उनले १९६२ सालमा काठमाडौंको नक्सालमा रहेको आफ्नै निवासमा सत्यवादी पाठशालाको स्थापना गरी सर्वसाधारणलाई पनि पढ्ने व्यवस्था मिलाएका थिए । सर्वसाधारणलाई शिक्षा दिने उनको यो कदम राणाहरूले मन नपराएपछि सोही नाममा उनले बझाङको मल्लेकमा विद्यालय खोले । जुन अहिले पनि सञ्चालनमा छ ।

१९५८ ‘अक्षरांक शिक्षा’ नामक पुस्तक लेखेर पाठशालामा पढाउने व्यवस्था गरे । बालबोध, ज्ञानमाला, श्रेस्ता दर्पण, पदार्थ तत्त्वबोध, भूगोल विद्या, प्राकृत व्याकरण, शिक्षा दर्पण, तत्त्व प्रशंसा, व्यवहारमाला जस्ता थुप्रै पुस्तकहरू आफैंले लेखेर विद्यालयमा पढाउने व्यवस्था उनले गरेका थिए ।

उनले बंगलादेशबाट बझाङमा चिकित्सक ल्याएर रानी खगेश्वरीको नामबाट खग–आयुर्वेद औषधालयको स्थापना गरेका थिए । यस्तै बझाङबाट डोटी हुँदै भारतको टनकपुरसम्म जानका लागि घोडेटो बाटो निर्माण गर्न लगाएका थिए । भोटसँगको व्यापार सहज होस् भनेर बझाङको सदरमुकाम चैनपुरदेखि तिब्बतको मानसरोवरको बाटो पनि उनले नै निर्माण गर्न लगाएका हुन् । उनले स्थापना गरेको इँटाभट्टीबाट निर्मित “श्री जय” लेखिएका इँटा पनि यस क्षेत्रमा अहिलेसम्म भेटिन्छन् । यसका अलवा उनले बझाङमा हुलाक, कारागारजस्ता कार्यालय पनि स्थापना गरेर यहाँको सामाजिक सुधारमा काम गरेका थुप्रै लिखत भेटिन्छन् ।

१९५८ मा गोरखापत्रको प्रकाशन सुरु गरेका उनले १९६४ मा नेपालको भारदारी अड्डाको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनको बहुमुखी प्रतिभा, विकास र मानवतावादी विचारबाट प्रभावित भई तत्कालीन बेलायत सम्राट एडवर्ड सप्तमले उनलाई मानार्थ ‘कर्णेल’ को उपाधिले सम्मान गरेका थिए । १९७२ मा सुरु भएको विश्वयुद्धमा भएको मानव विनाशबाट विक्षिप्त बनेका उनले त्यसै बेला राजकाज परित्याग गरी विश्वभर मानवताको सन्देश फैलाउन हिँडेका थिए ।

त्यस बेला उनले फ्रान्स, बेलायत, जर्मनी, पोल्यान्ड, बेलग्रेट, हंगेरी, भियना, अस्ट्रिया, अमेरिका, थाइल्यान्ड, चीन, जापान, स्वीटजरल्यान्ड, इटली अविसिनिया, बर्मा लगायतका धेरै देशको भ्रमण गरेर त्यहाँ आफ्नो मानवतावादी दर्शनको प्रचारप्रसार गरेका थिए । भम्रणकै क्रममा बर्मामा जे.पी. इन्स्टिच्युट र नेपाली भाषा पाठशाला खोलेका थिए ।

सन् १९३३ मा अमेरिकाको सिकागोमा भएको विश्व आस्था मन्त्री सम्मेलनमा विभिन्न विषयमा सातवटा प्रवचन दिएका उनको चर्चा त्यसताका विश्वसामु चुलिएको थियो । उनले भ्रमणकै क्रममा बेलायतको संसद्मा पनि मावनतावादसम्बन्धी प्रवचन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्