चालु बर्षमा ९८.३८ प्रतिशत धान रोपाइँ सम्पन्न, कुनै असर नपरेमा २ लाख टन बढी उत्पादन हुने « Arthapath.com
१६ भाद्र २०७७, मंगलवार

चालु बर्षमा ९८.३८ प्रतिशत धान रोपाइँ सम्पन्न, कुनै असर नपरेमा २ लाख टन बढी उत्पादन हुने



काठमाडौं । चालु आर्थिक बर्षमा करिव शतप्रतिशत धान रोपाइँ खेती भएको छ । मौषमको अनुकलतले गर्दा खेतियोग्य जमिनमध्ये ९८.३८ प्रतिशत धान रोपाइँ सम्पन्न भएका हो । यस बर्षको हालसम्मको तथ्याङ्क अनुसार कुल १३ लाख ४९ हजार ४३१ हेक्टरमा धान रोपाइँ भएको हो । गत बर्षभन्दा करिब ५४ हजार हेक्टरभन्दा बढी क्षेत्रमा रोपाइँँ सम्पन्न भएको हो ।

चालु बर्षमा धानमा कुनै पनि असर नपरेमा धानको उत्पादकत्व ३.८० प्रति हेक्टर रहेको छ । चालु बर्षमा गत बर्षमा भन्दा २ लाख टन बढी धान उत्पादन हुने अनुमान गरिएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार गत वर्ष ५५ लाख ५० हजार ८ सय ७८ टन धान उत्पादन भएकोमा यस बर्ष २ लाख टन बढी धान उत्पादन हुने अनुमान गरिएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्याङ्क अनुसार गत वर्ष खेतियोग्य जमिनमध्ये ९४.४३ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको थियो । मन्त्रालयको तथ्यांकमा उच्च पहाडमा ९८.५४ प्रतिशत, तराईमा ९८.५२ र मध्य पहाडमा ९७.९४ प्रतिशत क्षेत्रमा रोपाइँँ सम्पन्न भएको छ ।
त्यस्तै सूदुरपश्चिम प्रदेशमा ९९.८६ प्रतिशत, प्रदेश २ मा ९९.०२ प्रतिशत, प्रदेश ५ मा ९८.६६ प्रतिशत, कर्णालीमा ९८.५३ प्रतिशत, प्रदेश ३ मा ९७.८५ र प्रदेश १ मा ९५.८८ प्रतिशत क्षेत्रमा रोपाइँँ भएको छ भने गण्डकी प्रदेशमा शत प्रतिशत रोपाइँँ भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्