नियमित अन्तर्राष्ट्रिय उडान शुरु, पहिलो दिन तीन उडान « Arthapath.com
१७ भाद्र २०७७, बुधबार

नियमित अन्तर्राष्ट्रिय उडान शुरु, पहिलो दिन तीन उडान



काठमाडौं । पाँच महिनापछि नियमित अन्तराष्ट्रिय उडान शुरु भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले ९ चैतदेखि रोकेको नियमित अन्तर्राष्ट्रिय उडान आजबाट शुरु भएको हो । पाँच महीनापछि पहिलो नियमित व्यावसायिक उडान नेपाल वायुसेवा निगमले गरेको छ । निगमको जहाज काठमाडौंबाट जापानको नारिता गएको छ ।

यो जहाज बुधबार राति १ बजे काठमाडौंबाट ४९ जना यात्रु लिएर नारिता गएको हो । जहाज आजै साँझ ५ बजे फर्कनेछ । नारिताबाट २२० जना यात्रु ल्याउने निगमले जानकारी दिएको छ ।

नियमित उडानबाट आउने यात्रुलाई पनि नेपाली सेनाले नै व्यवस्थापन गर्नेछ। सबै यात्रुलाई सेनाले विमानस्थलबाट सीधै होल्डिङ सेन्टर लैजाने छ । त्यहाँबाट सम्बन्धित प्रदेशसँगको समन्वयमा घर जाने व्यवस्था मिलाउने छ ।

सरकारले नियमित उडान खुला गर्दा प्रतिदिन ८०० जनासम्म मात्रै यात्रु ल्याउने अनुमति दिएको छ । स्वदेशी र विदेशी वायुसेवालाई दैनिक एक–एक उडानको अनुमति दिएको भए पनि कुनै दिन भने तीन वटासम्म उडान हुनेछ ।


प्रतिक्रिया दिनुहोस्