बाटो थुनियो राहत पुगेन, विद्युत बन्द भयो, फोनमा समेत रुन पाएनन् « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

बाटो थुनियो राहत पुगेन, विद्युत बन्द भयो, फोनमा समेत रुन पाएनन्



बागलुङ । भुजीखोलामा आएको बाढीले खण्डहर बनेको ढोरपाटन नगरपालिका–९ बोवाङ सडक र सञ्चार सञ्जालबाट पनि बञ्चित बनेको छ । बाढीले परिवारका सदस्य, घरबास, अन्नपात सर्वस्व गुमाएका बोवाङवासीले सञ्चार सेवा अवरुद्ध हुँदा टाढा रहेका आफन्तसँग फोनमै भए पनि रुन पाएका छैनन् । न बाहिरको खबर न आफ्नो खबर साटासाट गर्न पाए ।

बाढी पहिराले मानवीय मात्र नभएर ठूलो भौतिक क्षतिसमेत गरेको छ । बाढीले लघु जलविद्युतको पावर हाउस, कुलो बगाउँदा सो क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो । बुधबार रातिदेखि नै विद्युत नहुँदा बोवाङ क्षेत्र सञ्चाररबाट पूर्ण रुपमा बञ्चित भएको छ । शोकले दिउँसै अन्धकार बनेको बोवाङ विद्युत नहुँदा झनै अँध्यारो भएको छ ।

अर्नाकोटमा रहेको नेपाल टेलिकममा आंशिक विद्युत आपूर्ति भए पनि बोवाङमा लगेको विद्युत पूर्ण अवरुद्ध हुँदा फोन सम्पर्क टुटेको ढोरपाटन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । बाढीले भुजीखोला आसपासको ११ वटा लघु जलविद्युत आयोजना पूर्णरुपमा क्षति गरेको छ ।

‘पीडितहरू मनको बह पोख्ने आफन्तको खोजीमा छन्’ उद्धारमा खटिनुभएका अनेरास्ववियु बागलुङका जिल्ला अध्यक्ष शेखर खडकाले भन्नुभयो, ‘अधिकांशको फोनमा चार्जसमेत नहुँदा न खबर लिन, न खबर दिन सक्ने अवस्था छ ।’

‘बिहीबार बिहानदेखि अधिकांशको फोन स्विच अफ छ’ निमित्त प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले भन्नुभयो, ‘सो क्षेत्रमा मोबाइल अफ हुँदा घटनाबारे थप समन्वय र सूचना आदानप्रदानमा समेत कठिन भएको छ ।’ उद्धार, खोजी र राहतमा खटिएका सुरक्षाकर्मी तथा अन्य युवाले जजेरेटर र सोलरको सहयोगले मोबाईल चार्ज गरेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

बोवाङ सञ्चार मात्रा होइन, सडक सञ्जालबाट पनि विच्छेद भएको छ । बूर्तिवाङ बजारदेखि करिब सात किलोमिटरमाथि दोगाडीमा पहिरो जाँदा सडक सञ्जाल अवरुद्ध बनेको हो । बोवाङ पुग्ने ढोरपाटन–सालझण्डी सडक खण्डको ठाउँ–ठाउँमा पहिरो खसेको हुँदा सडकमार्फत राहत सामग्री पठाउन कठिन भएको ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीको भनाइ छ ।

‘बोवाङमा विचल्ली छ’ उहाँले भन्नुभयो, ‘जति सक्दो छिटो अवरुद्ध सडक हटाएर पीडितलाई राहतको व्यवस्थागर्न ध्यान केन्द्रित गरेका छौँ । उहाँले परिवारविहीन, घरवारविहीन परिवारलाई सक्दो सहयोग गर्न अपिल गर्नुभएको छ ।

बाढीले बस्ती बगाउँदा १६ जनाको मृत्यु भएको छ, २२ जना बेपत्ता भएका छन् । भुजीखोलाको तटीय क्षेत्रका ९३ घर बगाउँदा ५१८ जना विस्थापित भएका छन् । बेपत्ता २४ जनामध्ये शनिबार थप दुई जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय बूर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो । उनीहरूको खनाखत हुन सकेको छैन ।

शनिबार गुल्मीको चन्द्रकोट गाउँपालिका–९ तिनसिमस्थित बडिगाड खोलामा फेला परेको शव ढोरपाटन नगरपालिका–९ बोवाङका २२ दिने शिशु राजन विकको भनी सनाखत भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, युवा विद्यार्थी, स्थानीयवासीले बुधबारदेखि निरन्तर खोजी गर्दा पनि बेपत्ताको अवस्थ सार्वजनिक हुन सकेको छैन । छिटफुट फेला परेका शव पनि टुक्रा परेको अवस्थामा भेटिँदा पहिचानमा कठिन भएको छ ।

प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार बोवाङका २४ वर्षीय नारायण विक, २० वर्षीय टेकमाया विक, उहाँकी एक वर्षीया छोरी, १६ वर्षीया मनिषा विक, घट्टेचौरकी २८ वर्षीया चनी विक, उहाँका छोरा १० वर्षीय रोशन विक, पाँच वर्षीय रवि विक, १५ दिनको एक बच्चा, २६ वर्षीया मनकुमारी विक, भुसुन्डेकी २९ वर्षीया कुमारी विक, १४ वर्षीय समुन्द्र विक, ३० वर्षीय जितबहादुर घर्ती, ४४ वर्षीय राजु घर्ती, उहाँकी छोरी चार वर्षीया प्रकृति पुन, सानो कुगुकी ३५ वर्षीय हेमबहादुर विक, उहाँकी श्रीमती ३४ वर्षीया उजेली विक, उहाँका १० महिने एक बच्चा, २८ वर्षीया हस्तमाया विक बेपत्ता रहनुभएको छ ।

त्यस्तै, दुनेपँधेराकी ६५ वर्षीय तुलमति घर्ती, लाकुरीबोटकी ५६ वर्षीय कौशिला पुन, उहाँकी २१ वर्षीय छोरा विशाल पुन, पावर हाउस बस्ने २६ वर्षीय धनमाया विक, उहाँका २ वर्षीय छोरा मोहन विक र गल्कोट नगरपालिका–४ का नवीन भण्डारीको अवस्था अज्ञात रहेको छ । शनिबार फेला परेको शव बेपत्तामध्ये कसैको हुन सक्ने प्रहरी निरीक्षक भण्डारीको भनाइ छ ।

विध्वंशकारी बाढीले गरेको भौतिक क्षति

बाढीले ढोरपाटन–९ को ८३ घर पूर्णरुपमा क्षति गर्दा ४४६ जना र ढोरपाटन–८ का १० घर बगाउँदा ७२ जना विस्थापित भएका हुन्, ४८ घरमा आंशिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मध्यरातमा उर्लेर आएको भेलले सुप्राङ्गको जनचेतना प्रावि र सुकुरदुङको सरस्वती आधारभूत विद्यालयको भवन पूर्ण रुपमा नष्ट गरेको हो ।

लाकुरीबोट उपस्वास्थ्य चौकी, विजोलिखोला लघु जलविद्युत आयोजना, रुद्रताल जल विद्युत आयोजना, २६ किलो वाटको भुजी चौथो लघु जलविद्युत आयोजना र ८४ किलो वाटको भुजीखोला पाँचौ लघु जलविद्युत आयोजनासहित ११ लघु जलविद्युत आयोजना, ११ झोलुङ्गे पुल, पाँच वटा ढलान पुल र १० वटा काठे पुल बगाएको नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिनुभयो । थप क्षतिको विवरण सङ्कलन कार्य जारी रहेको उहाँको भनाइ छ ।

बाढीले मानवीयसँगै ठूलो भौतिक क्षति गरेको छ । विशेष गरी बोवाङको सुपराङ, भुसुन्डे, सिदु, घट्टेबोट, सेरावाङ, फल्लेघर, दुनापँधेरा र लाखुरीबोटलाई उजाड बनाएको छ । बाढी प्रभावित क्षेत्रमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उद्धार बेपत्ताको खाजीसँगै राहत सामग्री वितरणलाई प्राथमिकतामा राखेर काम गरेका छन् ।
शुक्रबार गृहमन्त्री रामबहादुर ‘बादल’ र शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग प्रभावित क्षेत्रमा पुगेर बेपत्ताको खोजी, राहत र पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडी बढाउने बताउनुभएको थियो ।

बाढीले बस्ती बगाउँदा बेपत्ता भएकामध्ये शनिबारसम्म १६ जनाको शव फेला परेको छ । शनिबार थप दुई जनाको शव फेला परेको थियो । उनीहरूको सनाखत हुन सकेको छैन ।गोरखापत्र अनलाइनबाट साभार


प्रतिक्रिया दिनुहोस्