एम्बुलेन्समा राखेर बालिका अपहरणः दुई चालकसहित तीनजना पक्राउ « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

एम्बुलेन्समा राखेर बालिका अपहरणः दुई चालकसहित तीनजना पक्राउ



विराटनगर / दुई लाख रुपैयाँ फुत्काउनका लागि मोरङको पथरीशनिश्चरेबाट १४ वर्षीया बालिकाको अपहरण भएको घटना बाहिरिएको छ। नातामा दाई पर्ने पथरीशनिश्चरे नगरपालिका–८ का २१ वर्षीय सुजन रणपहेलीसहित पथरीशनिश्चरे–६ का २२ वर्षीय रोमन आचार्य र सुनवर्षी नगरपालिका–६ का ३७ वर्षीय पूर्ण तामाङलाई बालिका अपहरणको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले अपहरणमा प्रयोग गरिएका को २ च २८८२ र को २ च ३१२१ नम्बरका दुईवटा एम्बुलेन्स पनि नियन्त्रणमा लिइएको जानकारी दिए। आचार्य को २ च २८८२ र तामाङ अर्को एम्बुलेन्सका चालक हुन्। रणपहेली अपहरित बालिकाको नातामा दाजु पर्ने व्यक्ति हुन्।

डीएसपी गिरीले रणपहेलीकै मुख्य योजनामा बालिका बहिनीको अपहरण भएको बताए। अपहरणपछि बहिनीलाई आमाले राख्न दिएको दुई लाख रुपैयाँ फुत्काउने योजना उनको रहेको पाइएको गिरीको भनाइ छ। अपहरणमा परेकी बालिकालाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा साँगा भञ्ज्याङबाट भदौ १७ गते उद्धार गर्दै घटनामा संलग्नलाई पक्राउ गरिएको जानकारी उनले दिए।

उद्धार र पक्राउ गरिएकालाई १८ गते बिहीबार पथरीशनिश्चरे ल्याइर्पुयाएर अनुसन्धान सुरु गर्दा अपहरणको पुष्टि भएको गिरीले बताए। चार दिनअघिको घटनालाई प्रहरीले ढिलो गरेर सार्वजनिक गरेको हो। ‘प्रारम्भिक अनुसन्धानबाट काठमाडौं र्पुयाएर बहिनीको साथमा भएका पैसा फुत्काउने योजना रहेको देखिन्छ,’ डीएसपी गिरीले भने, ‘गन्तव्यमा पुग्नै नपाइकन पक्राउ गरिएका कारण त्यसपछि अरु के योजना थिए भन्ने बारेमा अनुसन्धान भइरहेको छ।’

ज्यान मार्ने तथा परिवारका सबैलाई सखाप पारिदिनेसम्मका धम्की दिँदै अपहरण गरेपछि डरले बोल्न नसकेको र त्यसक्रममा आफूमाथि कुनै गलत गतिविधी भने नभएको बालिकाले प्रहरीलाई बताएकी छन्। तर उनलाई बीचबीचमा दुईवटा एम्बुलेन्स परिवर्तन गर्दै लगिएको पाइएको छ।
घटनाअनुसार भदौ १६ गते मंगलबार बिहानका राति बालिका एकाएक घरबाट हराएकी थिइन्। अभिभावकले दिउँसो प्रहरीमा हुलियासहितको निवेदन दिएपछि खोजी गर्ने क्रममा अपहरण गरेर काभ्रेको साँगा र्पुयाएपछि फेला पारिएको डीएसपी गिरीले बताए। उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट पथरी बजारकै एउटा माइक्रो फाइनान्सबाट आमाले दुई लाख रुपैयाँ निकालेर १५ गते बालिकालाई राख्न दिएको खुलेको छ।

उक्त रकम झिक्नुअघि बालिकाको आमाले अरु आफन्तसँग गरेको फोन संवाद सुनेका रणपहेलीले पैसा निकालेर छोरीलाई राख्न दिएको चाल पाएको प्रहरीले जनाएको छ। त्यसपछि मुख थुन्दै जबरजस्ती विभिन्न धम्की दिएर मंगलबार बिहान आमाले राख्न दिएको रकमसहित बालिकालाई उनले अपहरण गरी लिएर गएको डीएसपी गिरीको भनाइ छ।

उनका अनुसार सुरुमा रणपहेलीले पथरीको मंगलबारे चोकबाट को २ च २८८२ नम्बरको एम्बुलेन्समा चढाएर बालिकालाई सुनसरीको इटहरी र्पुयाएका थिए। उक्त एम्बुलेन्सका चालक आचार्य रणपहेलीका पुराना साथी हुन्। इटहरीबाट भने परिवर्तन गर्दै अर्को चिनेकै को २ च ३१२१ नम्बरको एम्बुलेन्समा राखेर लगेको खुलेको डीएसपी गिरीको भनाइ छ। तामाङले चलाएको उक्त एम्बुलेन्सले भने बनेपासम्म र्पुयाएको थियो। पूर्व योजना अनुसार आचार्यले चलाएको एम्बुलेन्स पनि सँगसँगै गएको पाइएको प्रहरीले जनाएको छ।

‘बनेपादेखि भने इहटरीबाट गएको एम्बुलेन्सबाट ओरालेर फेरि आचार्यकै पथरीबाट लगेको एम्बुलेन्समा राखेर बालिकालाई काठमाडौंतिर लग्दै गर्दा साँगामा प्रहरीले फेला पारेको हो,’ गिरीले भने, ‘नातामा बहिनी पर्ने बालिकालाई अपहरण गर्ने रणपहेली लागुऔषध दुव्र्यसनी रहेको खुलेको छ।’ उनले प्रारम्भिक अनुसन्धानबाट बहिनीसँग भएको पैसा लुट्नकै लागि अपहरण गरेको देखिएको र अपहरणको थप अरु कारण खुल्न बाँकी रहेको जनाए। तर रणपहेलीले भने बहिनीलाई काठमाडौं डुलाउन लिएर गएको बताउँदै आएका छन्। गिरीका अनुसार एम्बुलेन्स लगे बापत आचार्यले १४ र तामाङले २० हजार रुपैयाँ रणपहेलीसँग लिइसकेको खुलेको छ।

‘घटनामा शंकास्पद भूमिका देखिएसँगै एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइएकाले थप कुरा खुल्दै जानेछ,’ उनले भने, ‘तर बिरामी बोक्ने एम्बुलेन्सले शंकास्पद ढंगले फेरिफेरि यात्रु बोकेको पाइएपछि घटनाको अनुसन्धान अघि बढाइएको छ।’ पक्राउ परेकालाई अपहरण तथा ज्यान मास्ने–बेच्ने मुद्दा चलाउन शुक्रबार म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। अन्नपुर्ण पोष्बाट साभार


प्रतिक्रिया दिनुहोस्