“कोरोना भाइरस केहि होईन” भन्नु र कोरोनाले सबै समाप्त पार्छ” भन्नु दुवै गलत: प्रमुख खुलाल « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

“कोरोना भाइरस केहि होईन” भन्नु र कोरोनाले सबै समाप्त पार्छ” भन्नु दुवै गलत: प्रमुख खुलाल



मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोना भाइरसलाई सामान्य तरिकाले लिएर हेलचेक्रयाइँ नगर्न आग्रह गर्नुभएको छ । समुदायस्तरमै संक्रमण फैलिएपछि हेटौंडाका विभिन्न वडामा सरोकारवाला पक्षसंग भेटघाट र छलफल गर्ने क्रममा आज वडा नम्बर ३ मा भएको छलफलमा उहाँले “कोरोना भाइरस केहि होईन र कोरोनाले सबै समाप्त पार्छ” भन्नु दुवै अतिवादी सोच भएकाले त्यस्तो भ्रम त्याग्न आग्रह गर्नुभयो ।

हेटौंडाका विभिन्न वडामा छलफललाई निरन्तरता दिने क्रममा आज वडा नम्बर ३ का जन प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मीलगायतसंगको छलफका क्रममा “कोरोना भाईरस केहि होईन भन्नु र कोरोनाले सबै समाप्त पार्छ भन्नु दुवै गलत भएको बताउनुभएको छ । उहाँले “मलाई केही हुन्न, म तन्दुरुस्त छु’ भन्ने भ्रमका कारण कोरोना भाइरसको सङ्क्रमण झन् फैलिँदै गएकाले यस्ता भ्रम त्याग्न र स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्दै समुदायमा पनि यसबारे जनचेतना अभिबृद्धि गर्न आगूह गर्नुभयो ।

प्रमुख खुलालले कोरोना नफैलियोस् भनेर डराउनुपर्छ तर आत्तिन नहुने भन्दै बिशेष रुपमा समुदायलाई सचेत बनाउने तर्फ सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले घरबाहिर निस्कँदा सही तरिकाले मास्क लगाए, भिडभाडमा नगए कोरोनाबाट बच्न सकिने कुरालाई समुदायमा व्यापक रुपमा जानकारी दिनुपर्ने बताउनुभयो । खोक्दा, हाच्छिउँ गर्दा र बोल्दा थुकमार्फत कोरोना भाइरसको सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले खोक्दा, हाच्छिउँ गर्दा नाक, मुख छोप्न र व्यक्ति–व्यक्तिबीचको दुरी कायम राख्न समेत प्रमुख खुलालले आग्रह गर्नुभएको छ । कोरोना भाइरसको सङ्क्रमणबारे अहिले सामाजिक सञ्जालहरुमा कोरोना केही होइन भन्दै भ्रम छर्ने काम समेत हुने गरेकोले त्यस्ता कुरालाई चिर्न र सत्य कुराका बारेमा समुदायमा सचेतना अभिबृद्धि गर्न जनप्रतिनिधि, राजनैतिक दल, टोल विकास संस्थालगायतले भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले समुदायमा जनचेतना जगाउँदै जनजीविकालाई सामान्य बनाउने तर्फ लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

छलफलमा ३ नम्बर वडा अध्यक्ष रामकुमार पुडासैनीले वडामा सबैको सहकार्यमा कोरोना रोमथामको काम भइरहेको जानकारी दिनुभयो । उहाँले हालसम्म वडामा ५३ जनाको परिक्षण भएकोमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको र अहिले सबै निको भइसकेको समेत जानकारी दिनुभयो । उहाँले वडामा सबैको सकृयतामा जनचेतना अभिबृद्धि गर्नेलगायतका काम भइरहेको जानकारी दिँदै वडामै क्वारेन्टाईन समेत सञ्चालन गरेको बताउनुभयो । छलफलमा वडाका स्वास्थ्य संयोजकले स्वास्थ्य सामग्रीको अभावमा काम गर्न समस्या भएको समेत बताउनुभयो । उहाँले उपमहानगरपालिकाबाट पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध नहुँदा समस्या भएको गुनासो गर्नुभयो । छलफलमा वडा सदस्यहरु बिमला बर्तौला, राधा कुमारी बिश्वकर्मा, बसामाडी स्वास्थ्य चौकीका प्रमुखप्रकाश बर्तौला, विभिन्न राजनैतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्