१ अर्ब ३६ करोड छुट्याईयो जस्ताको छानो बनाउन « Arthapath.com
३१ भाद्र २०७७, बुधबार

१ अर्ब ३६ करोड छुट्याईयो जस्ताको छानो बनाउन



काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेको छ । क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानो परिवर्तन हुन लागेको हो । यसका लागि सरकारले रु १ अर्ब ३६ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

नागरिक सुरक्षा आवास कार्यक्रम, जनता आवास कार्यक्रम र विपन्न आवास कार्यक्रम सञ्चालित कार्यक्रम मध्ये दुई हजार ७ सय ३० परिवारका लागि जस्तापाता लगाइने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए ।

झापा क्षेत्र नम्बर ५ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएकाले दमक नगरपालिकामा ६ सय १६ र गौरादह नगरपालिकामा ६ सय ६३, कमल गाउँपालिकामा ८३० र गौरीगञ्ज गाउँपालिकामा ६२७ परिवारको छानो फेर्ने कार्यक्रम रहेको बताइएको छ । जस्ता पाता फेर्नका लागि प्रत्येक घरलाई रु ५० हजार उपलब्ध गराइने भएको छ ।
त्यस्तै घर नभएका विपन्न नागरिकका लागि घर बनाएर दिने कार्यक्रम अन्तरगत ‘जनता आवास कार्यक्रम’ मार्फत १२० वटा घर निर्माण गरिने भएको छ । एक घर निर्माणका लागि रु तीन लाख ५० हजार प्रदान गरिने र बाँकी अपुग रकम स्थानीय तह र सम्बन्धित घरधनीको जनश्रमदान रहने थापाले बताए ।

दमक र गौरादह नगरपालिकामा ३२÷३२ वटा र गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा २८÷२८ वटा घर निर्माण हुने भएका छन् । यसका लागि लागि रु ४२ करोड खर्च हुने बताइएको छ ।

यता सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत दमकमा १५ र गौरीगञ्जमा १३ वटा नमूना घर निर्माण हुने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्