१४ अर्ब रूपैयाँ लगानीमा बन्ने दूधकोशी नदीमा ७० मेगावाट विद्युत् उत्पादन अनुमति « Arthapath.com
१३ आश्विन २०७७, मंगलवार

१४ अर्ब रूपैयाँ लगानीमा बन्ने दूधकोशी नदीमा ७० मेगावाट विद्युत् उत्पादन अनुमति



काठमाडौं । दूधकोशी नदीमा ७० मेगावाट विद्युत उत्पादन गर्न अनुमति दिईएको छ । दूधकोशी हाइड्रो पावर नेपालले (दूधकोशी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको हो । विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी दिए ।

भारतको लगानीमा निर्माण हुने दूधकोशी नदी सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्छ । आयोजना सम्पन्न गर्न करिब १४ अर्ब रूपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ ।

सोलुखुम्बुमा थुलुङ दूधकोशीमा ड्याम बनाइ सुरुङमार्गबाट खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा विद्युत्गृह निर्माण गरी २३० मेगावाट उत्पादन गर्ने अनुमानसहित प्रक्रिया अगाडि बढाइएको थियो ।

नेपाल सरकारको गौरवको आयोजना दूधकोशी जलाशययुक्त आयोजनाका कारण थुलुङ दूधकोशी गाउँपालिका– ५, ६ र ७ को सिमानामा पर्ने बर्खुघाटमा ड्याम निर्माण गर्ने र सोही गाउँपालिका–४ को खन्योखर्कमा विद्युत् गृह निर्माण गर्ने गरी उत्पादन अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत खनालले जानकारी दिए ।

यसअघि दूधकोशीको पानी करिब पाँच किलोमिटर सुरुङ मार्गमार्फत जलेश्वरमा पुर्याउने योजना थियो भने अहिले तीन किलोमिटर सुरुङमार्गमार्फत खन्यखर्कमा निर्माण हुने विद्युत् गृहमा पुर्याइने छ । जसकारण उत्पादन क्षमतासमेत २३० मेगावाटबाट घटेर ७० मेगावाटमा झरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्