सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, लकडाउन होला की नहोला ? « Arthapath.com
२१ आश्विन २०७७, बुधबार

सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, लकडाउन होला की नहोला ?



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७ जना पुगेका छन् । सरकारले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेपछि लकडाउन लगाउने घोषणा गरिसकेको छ । तर लकडाउन हुने वा नहुने अझै टुंगो लाग्न सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत बुधबार (असोज ७) नियमित कोरोना अपडेटमा बोल्दै मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार भन्दा बढी सक्रिय कोरोना संक्रमित भएमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय भएको बताएका थिए ।

तर, केहि दिन अगाडी स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब लकडाउन नगर्ने दावी गरेका छन् । कोरोना सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपछि लकडाउन हुन्छ भन्ने आशंकाले व्यावसायीहरु त्रसित हुनथालेपछि स्वास्थ्य मन्त्रीले लकडाउन नगर्ने वाचा गरेका थिए ।

मन्त्री ढकालले नेपाल एनअबिआई पदाधिकारीहरुसंगको भेटमा उपत्यकामा लकडाउन नहुने बताएका थिए । गत शुक्रबार राष्ट्रिय व्यवसायिक पहलका पदाधिकारीहरुसँगको भेटमा मन्त्री ढकालले अब पुनः लकडाउन हुन्छ भनेर नआत्तिन समेत आग्रह गरेका थिए ।

नेपालमा बुधबारसम्म ९४ हजार २५३ जना कोरोनाबाट संक्रतिम भएका छन् । मन्त्रालयको वेवसाईटमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६८ हजार ६६८ रहेको छ । त्यस्तै हाल कोरोना सक्रिय रहेको संख्या वेवसाईटको तथ्याङ्मा हेर्दा २५ हजार ७ जना रहेका छन् । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ५७८ पुगेको छ । यो तथ्याङ्क हेर्दा कोरोनाले भयावह रुप लिईरहेको छ ।

यसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार पुगेपछि लकडाउन गर्ने घोषणा गरेको हो । बुधबार २५ हजार सक्रिय कोरोना संक्रमितको संख्या पुगेको छ । तर यसबारे कुनै धाराणा आएको छैन ।


प्रतिक्रिया दिनुहोस्