सिम्रिक एयरले कोरोना सङ्क्रमितको उद्धार गर्ने, भाडादरसँगै अतिरिक्त २ लाख ५० हजार रुपैयाँ

काठमाडौँ । सरकारले सिम्रिक एयरलाई कोरोना भाइरस सङ्क्रमितको उद्धार अनुमति प्रदान गरेको छ । सिम्रिक एयरले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयले तोकेका स्वास्थ्य सुरक्षा तथा सावधानीका सबै मापदण्ड पुरा गरेकोले अनुमति प्रदान गरिएको हो । यो निजी क्षेत्रको सबैभन्दा अग्रणी हेलिकोप्टर सेवा प्रदायक कम्पनी हो । नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको हेलिकोप्टरलाई कोरोना भाइरस सङ्क्रमितको उद्धार गर्न सोमबार अनुमति दिएको हो ।
हेलिकोप्टरमा सङ्क्रमितलाई सुरक्षित ढङ्गले राख्नका लागि स्ट्रेचरलगायत डब्लुएचओ र स्वास्थ्य मन्त्रालयको तोकेको प्रोटोकलअनुसारका अन्य उपकरण जडान गरिएको छ । यस्तै सङ्क्रमितबाट अन्य यात्रुमा भाइरस नसर्ने गरी मेडिकल उपकरण र सुरक्षा सुनिश्चित गरिएको र आपत्कालीन सेवाका लागि मेडिकल टिमसमेत रहने बताइएको छ ।
हालसम्म कोरोना सङ्क्रमितको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट मात्रै हुँदै आएको थियो। निजी क्षेत्रबाट पहिलो पटक कोरोना उद्धारका लागि सिम्रिकलाई अनुमति दिएको हो ।
सिम्रिक एयरका अहिले पाँच हेलिकप्टर सञ्चालनमा छन् । जसमध्ये दुई वटा हेलिकोप्टर सङ्क्रमितको उद्धारका लागि प्रयोग गरिने छ । कम्पनीले चीनबाट संक्रमित विरामी राख्नका लागि विशेष उपकरण मगाएर सेवा थालेको कम्पनीका प्रवन्धक सुनिल श्रेष्ठले बताए
कम्पनीका अनुसार यो उडानमा क्याप्टेन, २ जना चिकित्सक र विरामी लगायत चारजना राखिने छ । विरामी राख्नका लागि आइसोलेटेड उपकरण प्रयोग गरिनेछ ।
विरामी ल्याउन गएका चालक र चिकित्सकले पिपिइ, मास्क, फेस सिल्ड प्रयोग गरेका हुन्छन् । संक्रमण जोखिमका कारण यो उडानमा विरामीको आफन्तलाई राखिँदैन् । अस्पतालमा र्पुयाए लगत्तै विरामीलाई सिधै आइसियुमा राखेर उपचार थालिन्छ । एउटा विरामीका लागि प्रयोग गरिएको आइसोलेसन ब्याग पुनः प्रयोगका लागि डिसइन्फेक्ट गरिने कम्पनीले जनाएको छ ।
यो सेवा लिनका लागि कम्पनीले रोटर आवरका आधारमा लिँदै आएको साविकको भाडादर सँगै अतिरिक्त २ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको चिफ एक्जिक्युटिभ मार्केटिङ अफिसर योगेश सापकोटाले बताए ।