किर्गिजस्तानमा प्रधानमन्त्रीलाई बनाइयो कार्यवाहक राष्ट्रपति « Arthapath.com
३० आश्विन २०७७, शुक्रबार

किर्गिजस्तानमा प्रधानमन्त्रीलाई बनाइयो कार्यवाहक राष्ट्रपति



काठमाडौं । किर्गिजस्तानका प्रधानमन्त्री सादिर जापारोभलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको छ । राष्ट्रपति सूरोनबे जीन्बेकोभले राजीनामा दिएपछि बुधवारमात्रै प्रधानमन्त्रीमा नियुक्त भएका जापारोभलाई नयाँ जिम्मेवारी दिइएको हो ।

किर्गिजस्तानमा हालै सम्पन्न संसदको निर्वाचनमा धाँधली भएको भन्दै देशव्यापी विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा विपक्षी दलका नेता र प्रदर्शनकारीले राष्ट्रपतिविरुद्ध पनि विरोध गरेका थिए । उनीहरुले जीन्बेकोभले राजीनामा दिनुपर्ने माग समेत राखेका थिए । जापारोभका समर्थकहरुले प्रदर्शनले उग्र बनाउँदै लगेपछि हिंसा रोक्न भन्दै राष्ट्रपति जीन्बेकोभले बिहीवार राजीनामा दिने घोषणा गरेका थिए ।

किर्गिजस्तानको संविधान अनुसार राष्ट्रपतिपछि देशको राष्ट्रप्रमुख बन्ने लाइनमा संसदको सभामुख छन्। तर प्रदर्शनकारीहरुको दबाबका कारण सभामुख कनट इसाएभले कार्यवाहक राष्ट्रपति बन्न अस्वीकार गरेपछि जापारोभलाई कार्यवाहक राष्ट्रपति बन्ने बाटो खुलेको हो । जापारोभ जेलमा ११ वर्षको सजाय काटिरहेका थिए । संसदीय निर्वाचनको परिणाम अस्वीकार गर्दै भएको प्रदर्शनका क्रममा जापारोभका समर्थकले विभिन्न सरकारी कार्यालयहरुमा तोडफोड गरेका थिए। त्यसैक्रममा प्रदर्शनकारीहरुले जेलमा रहेका जापारोभका साथै अन्य विपक्षी नेताहरुलाई रिहा गरेका थिए ।

कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका जापारोभले छिट्टै अर्को संसदीय निर्वाचनका साथै राष्ट्रपति निर्वाचन गर्ने घोषणा गरेका छन् । तर उनले निर्वाचन मिति भने सार्वजनिक गरेका छैनन् ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्