भाइटीकाको उत्तम साइत ११ः ३७ बजे, यसै दिन नेपाल संवत् ११४१ सुरू « Arthapath.com
२४ कार्तिक २०७७, सोमबार

भाइटीकाको उत्तम साइत ११ः ३७ बजे, यसै दिन नेपाल संवत् ११४१ सुरू



काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिल जनाएको छ । मंसिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ ।

यस बर्ष कात्तिक २७ गतेदेखि यम पञ्चक सुरू हुने भएको छ । कात्तिक २८ गते काग तिहारसंगै धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ ।

कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।

सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँशी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते छ । आइतबार बिहान ११ः२७ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ । म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ ।

भाइटीकाकै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले बताए । यसै दिनदेखि नेपाल संवत् ११४१ सुरू हुन्छ ।

शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि मंसिर १ गते नै मनाइन्छ । मंसिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचनअनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ ।

यसैले मंसिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । मंसिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहको समितिले जनाएको छ ।

शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्