नक्कली बैंक ग्यारेन्टी बनाइ ठगी गर्ने निर्माण व्यवसायी पक्राउ « Arthapath.com
२४ कार्तिक २०७७, सोमबार

नक्कली बैंक ग्यारेन्टी बनाइ ठगी गर्ने निर्माण व्यवसायी पक्राउ



काठमाडौं । डडेल्धुरामा नक्कली बैंक ग्यारेन्टी बनाएर भुक्तानी लिएका निर्माण व्यवयायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोहरा निर्माण सेवाका प्रोपराईटर लोकबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार पक्राउ गरेको थियो । आवश्यक कारवाहीका लागि बोहरालाई डडेल्धुरा ल्याइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी उपरीक्षक महेन्द्र नेपालले बताए । घटना सम्बन्धी अनुसनधान भइरहेको उनले बताए ।

बोहरा निर्माण सेवा परशुरामले परशुराम नगरपालिकाको वडा नम्बर ५ को वडा कार्यालय भवनको ठेक्कामा नक्कली बैङ्क ग्यारेन्डी बनाएर १० लाख भुक्तानी लिएको थियो ।

नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाले बोहरा निर्माण सेवाले नक्कली बैङ्क ग्यारेन्टी बनाएको भन्दै किटानी जाहेर दिएपछि बोहरा निर्माण सेवाका प्रोपराईटर बोहरालाई पक्राउ गरिएको हो ।

परशुराम नगरपालिले कम्पनी सञ्चालकलाई तीन दिनको समय दिई सो बैंक ग्यारेन्टी सक्कली हो भने प्रमाण जुटाउन भनेको थियो । तर निर्माण कम्पनीका संचालक बोहराले उपलब्ध नगराएपछि नगरपालिका नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखालाई कागजपत्र भेरिफाई गरिदिनू भनी पत्र पठाएको र अहिलेसम्म केही प्रतिक्रिया प्राप्त नभएको प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताए ।


प्रतिक्रिया दिनुहोस्