शपथ लिएको तीन दिनमै शिक्षामन्त्रीको राजिनामा

काठमाडौं । मन्त्री पदको शपथ लिएको तीन दिन नबित्दै भारतको बिहार राज्यका शिक्षा मन्त्री मेवालाल चौधरी राजिनामा गरेका छन् । गत सोमबार बिहारमा नीतिश कुमारले सातौं पटक मुख्यमन्त्री पदको शपथ ग्रहण गर्दा चौधरीसँगै १४ जना मन्त्री नियुक्त भएका थिए ।
बिहार कृषि विश्वविद्यालयमा उपकुलपति हुँदा पदपूर्तिमा अनियमितता गरेको आरोप लागेपछि उनले पदबाट राजिनामा दिएका हुन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार चौधरी बिहार विधानसभा चुनाबमा सत्तारुढ राष्ट्रिय गठबन्धन (एनडीए) को घटक दल जनता दल यूनाइटेडबाट विधानसभा चुनाबमा निर्वाचित भएका थिए ।
सत्तारुढ प्रमुख घटक भारतीय जनता पार्टीको दबाबपछि चौधरीले राजिनामा गरेको बताइएको छ । भ्रष्टाचार गरेको अदालतबाट प्रमाणित हुनुपर्ने वा कुनै आरोप पत्र समेत दायर भएको हुनुपर्ने हो, तर दुईमध्ये कुनै नभएको चौधरीले प्रष्टीकरणमा बताएका छन् ।