ऋणीले ६ महिनासम्म ब्याज नतिरे पनि धितो लिलामी नहुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित ऋणीहरुले ६ महिनासम्म ब्याज तिर्न नसके पनि धितो लिलामी भने नहुने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा मार्फत कोरोना प्रभावित ऋणीहरुले ६ महिनासम्म ऋणको ब्याज तिर्न नसकेको अवस्थामा केहि समयका लागि धितो लिलामी जस्ता प्रक्रिया स्थगन गर्नुपर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीति अनुसार ‘कोभिड–१९ को असर परेका ऋणीको ६ महिना भन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी जस्ता प्रक्रिया केही समयसम्मका लागि स्थगन गर्नु पर्ने व्यवस्था गरिनेछ ।’
त्यस्तै, बैंकहरुले निक्षेको ब्याजदर घटाउदै लगेपछि साधारण बचतको ब्याजदर बढाउन केन्द्रिय बैंकले नयाँ ब्यवस्था गरेको छ । केन्द्रिय बेंकले मौद्रिक नीतिको समिक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरुले कल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत विन्दु भन्दा बढीले फरक गर्न नपाइने व्यवस्था गरेको छ ।