कुमारी बैंकको १४ प्रतिशत लाभांश पारित, चुक्ता पूँजी १३ अर्ब ८७ करोड रुपैयाँ पुग्यो

काठमाडौं । कुमारी बैंकको २० औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरेको गरेको १४ प्रतिशत लाभांश पारित भएको छ ।
बैंक अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा रजिष्टर्ड कार्यालय, टंगाल, काठमाडौँमा सम्पन्न भएको साधारण सभाले हाल कायम चुक्ता पूँजीको १०.८५ प्रतिशत बोनस शेयर तथा ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । शेयरधनीहरुलाई बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७६।०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै, बैंकले अनलाइन प्लाट्फोर्म जूम मार्फत शेयरधनी महानुभावहरुको धारणा समावेश गरेको थियो ।
साधारण सभामा बैंकले आर्थिक वर्ष २०७६।०७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप १ खर्ब २४ अर्ब २२ करोड परिचालन तथा कुल कर्जा रकम १ खर्ब १५ अर्ब १३ करोड प्रवाह गरी सञ्चालन मुनाफा २ अर्ब १४ करोड तथा १ अर्ब १५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिइयो । आर्थिक वर्ष २०७७।०७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप १ खर्ब २२ अर्ब २९ करोड तथा कुल कर्जा रकम १ खर्ब १५ अर्ब १९ करोड गरि ८६ करोडको सञ्चालन मुनाफा र ६० करोड २५ लाखको खुद मुनाफा आर्जन गर्न सफल भएकोे छ ।
हाल बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १८६ शाखा सञ्जाल, १५० एटिएम, १३ एक्स्टेन्सन काउन्टरका साथै २२ वटा शाखारहित बैंकिङ्क इकाई मार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।