नारायणी बैंकको अध्यक्षमा नियुक्त नेप्सेका वाग्लेलाई लागेन कुलिङ पिरियड « Arthapath.com
२ पुष २०७७, बिहीबार

नारायणी बैंकको अध्यक्षमा नियुक्त नेप्सेका वाग्लेलाई लागेन कुलिङ पिरियड



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा सुरेन्द्रराज वाग्ले नियुक्त भएका छन् । वाग्लेले गत मंगलबार नेपाल राष्ट्र बैकमा शपथ लिएका छन् । वाग्लेलाई मंसिर १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा नियुक्त गरेको थियो । यसअघि कम्पनीको अध्यक्षमा चन्द्रमान मलेकु रहेका थिए । उनले व्यक्तिगत कारण देखाउँदै भदौ २५ गते अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

नवनियुक्त अध्यक्ष वाग्ले गोरखाको बुङ्कोटमा जन्मिएका हुन् । केही महिनाअघिमात्रै उनले एक्सचेन्जबाट अवकाश पाएका थिए । नेप्सेको कर्मचारी रहँदा उनी आफू प्राविधिक नभए पनि लामो समय सीडीएस एण्ड क्रिएरिङ कम्पनीमा काजमा बसेका थिए । निकै चलाख र धूर्त कर्मचारीको रुपमा चिनिएका उनी नेप्सेमा रहँदा धेरै फाइदा लिने, धेरै विदेश घुम्ने र धेरै भत्ता खाने कर्मचारीको रुपमा चिनिएका थिए । सीताराम थपलिया महाप्रबन्धक हुँदा वाग्लेको हालीमुहाली सबैभन्दा बढी थियो ।

नेप्सेको कर्मचारी रहँदा पनि उनी ब्रोकरको रुपमा समेत सक्रिय थिए । १८ नम्बर ब्रोकर कम्पनीमा उनले आफन्तको नाममा सेयर लगानी गरेका थिए । सो ब्रोकर कम्पनीलाई अधिकांशले वाग्लेको कम्पनीकै रुपमा चिन्छन् । समस्याग्रस्त नारायणी डेभलपमेन्ट बैंकमा लगानी गरेर अध्यक्ष बनेका वाग्लेको लगानीको स्रोतमाथिसमेत प्रश्न उठेको छ । उनले नेप्सेमा रहँदा नै सेयर कारोवारको आधिकारीक बैंकको रुपमा बैंक अफ काठमाडौंले जिम्मेवारी पाएपछि आफ्नो श्रीमतीलाई सो बैंकमा जागिर खुवाउन सफल भएका थिए ।

नेपाल राष्ट्र बैंकलगायत अधिकांश नियामक निकायहरूमा कार्यरत कर्मचारीहरू अवकाशपछि निश्चित समय कुलिङ पिरियडमा रहनुपर्ने प्रावधान छ । तर, वाग्ले भने अवकाशलगत्तै बैंक सञ्चालक बनेका हुन् । नेप्सेका कर्मचारीलाई कुलिङ पिरियड नलाग्नुमा नियामक निकायको लापरवाहीको नमूना मान्न सकिन्छ ।सेयरबजार


प्रतिक्रिया दिनुहोस्