संसद विघटन विरुद्ध सार्वेच्च जाने तयारी, आज रिट दायर नहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न दिएको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि सर्वाेच्च अदालतमा रिट दायर गर्ने कानुनवीदहरुले बताएका छन् । तर, सर्वोच्च अदालतमा आज रिट दायर नहुने भएको हो । रिट दायरको तयारीमा रहेका कानुनविद्हरुका अनुसार रिट दायरका लागि भोलि बिहानै अदालती प्रकृया सुरु गर्ने भएका हुन् ।
सर्वाेच्च अदालतमा साढे २ बजेपछि रिट दायर नहुने भएकाले भोली मात्रै रिट दायर हुने अधिवक्ता राजनकुमार निरौलाले बताए । सर्वोच्च अदालतमा १ देखि २ बजेसम्म ‘टि टाइम’ हो । राष्ट्रपति भण्डारीले साढे दुई बजेतिर मात्र प्रधानमन्त्री ओलीको सिफारिसलाई सदर गरि दिएकाले आज रिट निवेदन दिन ढिला भएको उनले बताए । रिट निवेदन दर्ता गर्न समय लाग्ने भएकाले भोली मात्रै दर्ता हुने भएको हो ।
प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको गम्भीर दुरुपयोग गरेर कू गरेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए । संविधान जोगाउन पनि रिट दायर गरेर अदालत गुहार्नुको विकल्प नरहेकाले त्यसको तयारी गरिरहेको त्रिपाठीले बताएका छन् ।