संसद् विघटन गरेपछि देशभर सुरक्षा व्यवस्था कडाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि हुने सम्भावित घटनालाई मध्यनजर गर्दै देशभर सुरक्षा व्यवस्था कडाई गरेको छ । संसद विघटन गरेपछि हुन सक्ने जुलुश, आन्दोलन लगायत विरोध कार्यक्रमलाइ मथ्थर गर्न सुरक्षा व्यवस्था कडा गरिएको हो ।
त्यस्तै, काठमाडौं उपत्यकामा पनि सुरक्षा व्यवस्था कडा गरेको छ । सिंहदरबारको चारैतर्फका सडक, माइतीघर, नयाँ बानेश्वर, बालुवाटार, शीतल निवास, निर्वाचन आयोग वरपर र भिडभाड हुने अन्य ठाउँमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । सुरक्षा अवस्थालाई हेरेर सुरक्षाकर्मीको उपस्थिति बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।
यसैबीच संसद् विघटनपछिको अवस्थाबारे आइतबार दिउँसो सैनिक मुख्यालय भद्रकालीमा छलफल भएको छ । देशैभरका पृतना, गुल्म तथा ब्यारेकलाई चनाखो रहन मुख्यालयले सूचना पठाएको सैनिक स्रोतले जनाएको छ । सरकारबाट आउने निर्देशनअनुसार परिचालनको लागि तयारी अवस्थामा रहेको पनि सैनिक स्रोतको भनाइ छ ।