नेप्सेमा सूचीकृत ३३ सहित ४४ कम्पनीको एकैदिन साधारणसभा
काठमाडौं । हरेक वर्षको पुस २९ गतेलाई पब्लिक कम्पनीहरूको साधारणसभा दिवस भनिदिए फरक पर्दैन । हरेक वर्ष यो वर्ष पब्लिक कम्पनीहरूले वार्षिक साधारणसभा गर्छन् । कतिपय कम्पनीहरू सर्वसाधारण सेयरधनीको उपस्थिति कम होस् र उनीहरूले कम्पनी सुधारका विषयमा उठाउने आवाजहरू सुन्न नपरोस् भन्नाका खातिर पनि एकैदिन साधारणसभा जुधाउने गर्छन् ।
यस वर्ष पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत झण्डै ३ दर्जन कम्पनीले एकै दिन साधारणसभा आह्वान गरेपछि सेयरधनी अलमलमा परेका छन् । एकैजना लगानीकर्ताको धेरै कम्पनीमा सेयर लगानी हुने भए पनि उनीहरू एकै दिन एकै समयमा हुने साधारणसभामा उनीहरू सबैतिर भाग लिन सक्दैनन् । यसले सेयरधनीको अधिकारसमेत हनन गरेको छ । दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरूले धेरै कम्पनीका सेयर कारोबार गर्ने गर्छन् । उनीहरूलाई त एकैदिन धेरै कम्पनीले साधारणसभा बोलाएपछि झनै दुविधा परेको छ ।
यो महिनाको अन्तिम दिन अर्थात् पुस २९ गते ३३ वटा कम्पनीले साधारणसभा बोलाएका छन् । सूचीकृत नभएका कम्पनीसमेत हिसाब गर्दा ४४ कम्पनीले उक्त दिन साधारणसभा गर्दैछन् । यो बिहीबार (पुस ९ गते) सम्म सूचना प्रकाशित गर्नेको मात्रै तथ्याङ्क हो । अझै केही कम्पनीले सोही दिन सभा बोलाएमा उक्त संख्यामा थप वृद्धि हुने सम्भावना उत्तिकै छ ।
उनीहरूले एकैदिन साधारणसभा त बोलाएका छन् नै, साथै उनीहरूले बोलाएको समय पनि एकैपटक पारेका छन् । धेरैजसो कम्पनीको साधारणसभाको समय बिहान १० बजेदेखि ११ बजे तोकेका छन् । यसले सेयरधनीहरूलाई कस्तो असर पर्छ ? सभामा उपस्थित हुन कठिनाइ हुन्छ÷हुँदैन ? यसमा उनीहरूले विचार पु¥याएको देखिँदैन । कम्पनीहरूले विचार नपु¥याएको एकातर्फ छँदैछ भने नियामक निकायले पनि अहिलेसम्म यस विषयमा चासो लिएको छैन । “साधारणसभा समयमा गर्नुपर्छ भन्ने हो । तर, यही दिन गर्नुपर्छ भन्ने तोक्न सकिँदैन । एकैदिन यति धेरै साधारणसभा होला भनेर नियामकले कल्पनासमेत गरेको छैन । त्यही कारण पनि नियामकले यस विषयमा नबोलेको हो,” धितोपत्र बोर्डका एक उच्च अधिकारीले भने ।
एकैदिन धेरै कम्पनीले सभा बोलाएपछि सूचीकृत कम्पनीहरूले खालि झारा टार्ने काममात्रै गर्ने गरेको आरोप सेयरधनीले लगाउन थालेका छन् । “एकैदिन, एकै समयमा साधारणसभा बोलाएर उनीहरूले कम मानिस उपस्थित गराउने मनसाय देखिन्छ । यो स्वास्थ्यका हिसाबले राम्रो देखिए पनि यसमा नियत खराब पनि हुनसक्छ । आफ्ना मान्छेमात्रै राखेर आफू अनुकूलका एजेन्डामात्रै पास गरे यसको जवाफदेही को हुन्छ ?” सेयरधनी सुशील भट्टराईको आशंका छ ।
एकैदिन धेरै कम्पनीको साधारणसभा जुध्नुमा विविध कारण छन् । आर्थिक वर्ष सकिएको ६ महिनाभित्रै साधारणसभा गर्नुपर्ने प्रावधान छ । जसका कारण ५ महिनासम्म साधारणसभा गर्न चासो नदेखाएका कम्पनीहरू छैठौँ महिनाभित्रै साधारणसभा गरेको देखाउन अन्तिम दिन सभा
गर्न तातिन्छन् । कम्पनीहरूले अन्तिम दिन सभा बोलाउनु नै उचित नदेखिएको परिपेक्षमा बजार सञ्चालकसमेत त्यही बाटो समाउने गरेको कारण अरूलाई पनि हौसला मिलेको छ । दोस्रो बजारमा सेयर कारोबार गराउने जिम्मा पाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले समेत पुस २९ मै
साधारणसभा बोलाएको छ । जबकि उसैले समयमा साधारणसभा नगरी अन्तिम दिन साधारणसभा बोलाउँदा अरूलाई समेत त्यही बाटो हिँड्न सजिलो भएको हो ।
सूचीकृत कम्पनीहरूले एकैदिन सधारणसभा बालोउदाँ यसको असर सेयरधनीहरूलाई पर्ने गर्छ । धेरै कम्पनीले एकै दिन सभा बोलाउँदा सेयरधनीहरू आफूले लगानी गरेको कम्पनीको सभामा समेत सहभागी हुन सक्दैनन् । अझै सञ्चालकको निर्वाचन गर्नुपर्ने अवस्थामा सेयरधनीहरूले राम्रो सञ्चालक चुन्ने अवसरबाट पनि बन्चित हुनुपर्ने अवस्था सिर्जना हुने देखिएको छ ।
यसपटक कोभिडको कारण साधारणसभा गर्न त्यति सहज छैन । धेरैले भर्चुअल साधारण सभा गर्दैछन् । त्यसमा पनि कम्पनीहरूले लापरबाही गरेका छन् । कतिपय कम्पनीहरूले
अनलाइनमार्फत सभामा सहभागी हुन सकिने जनाए पनि केही कम्पनीहरूले प्रकाशित गरेको सूचनामा सो कुरासमेत उल्लेख गरेका छैन । यसमा कम्पनीहरूले सेयरधनीप्रति पूर्ण जवाफदेही भएको देखिँदैन । एकैदिन धेरै कम्पनी सभा हुँदा कम्पनीका सबै सेयरधनीहरू उपस्थित हुन सक्दैनन् । यसले गर्दा कम्पनीहरूको कमी– कमजोरीसमेत ढाकछोप हुन्छ ।
यस वर्ष कोभिडको कारणले भर्चुअल माध्यमबाट साधारणसभा गर्न कम्पनी रजिस्ट्रारको कार्यालयले समेत लचकता दिएको छ । तर, भर्चुअल माध्यमबाट साधारणसभा गरे पनि सञ्चालक चयनमा भने कठिनाइ हुने गरेको छ । त्यसका लागि भर्चुअल साधारणसभालाई मान्यता दिने गरी विकास गर्ने भनिएको इलेक्ट्रोनिक भोटिङको कुरासमेत समयमै नसकिँदा कम्पनीहरूलाई जस्तो पाए त्यस्तै साधारणसभा गर्न प्रोत्साहन मिल्दै गएको छ ।
इलेक्ट्रोनिक भोटिङसहितको भर्चुअल साधारणसभा गर्न मिल्ने गरी कानुन परिमार्जन गर्न लागिएको कम्पनी रजिस्ट्रार कार्यालयले जनाएको छ । तर, उसले अझै यसलाई सार्थकता दिन सकेको छैन । उसले केन्द्रीय निक्षेप प्रणालीसँग मिलेर उक्त व्यवस्था गर्न लागेको जनाएको छ । जुन व्यवस्था गरेपछि लगानीकर्ताले एकैपटक धेरै सभा भए पनि घरमै बसेर सबै कम्पनीको सभामा भाग लिन र मतदान गर्नसमेत पाउने रजिस्ट्रारको भनाइ छ । “साधारणसभामा भोटिङ गर्न मिल्नेसहितको अनलाइन साधारणसभा गर्नको लागि कानुनी व्यवस्था गर्दैछौँ । त्यसको प्राविधिक पक्षका लागि केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)सँग सहकार्य हुँदैछ । त्यसको व्यवस्था भएपछि सेयरधनीले घरमै बसेर भोट हाल्नेसहितको अनलाइनबाटै सहभागिता जनाउन सक्छन्,” कम्पनी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार प्रदीपराज अधिकारीले भने ।
कम्पनीहरूमा पुसभित्र सभा नगरौँ नियामकको कारबाहीमा परिन्छ भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर सभा गर्न २१ दिनअघि नै सूचना निकाल्नुपर्ने व्यवस्था छ । यसले गर्दा पाँचौँ महिना बित्दासमेत सभा गर्न चासो नदेखाएका कम्पनीहरूले पुस अन्तिममा सभा बोलाउने गरेका हुन् । अन्तिम दिन सभा बोलाउने रोग यस वर्षको मात्रै होइन, वर्षौदेखि यही परम्पराले काम गर्दै आएको छ । गतवर्ष पनि पुस अन्तिम दिन २५ भन्दा बढी कम्पनीले साधारणसभा बोलाएका थिए । यस वर्ष उक्त दिन सभा बोलाउने कम्पनीको संख्या झनै थपिएको छ । सूचीकृत कम्पनीहरूले
यस्ता प्रवृत्तिलाई सुधार गर्दै जानुपर्नेमा झनै बढ्दै गएको देखिएको छ ।
कम्पनी ऐनअनुसार आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा सक्नुपर्ने हुन्छ । यता नेपाल स्टक एक्सचेन्जको वर्गीकरणको ‘ए’ वर्गमा पर्न पनि सोही अवधिभित्र साधारणसभा गरेको हुनुपर्ने व्यवस्था छ । सूचीकृत कम्पनीहरूले आफूलाई संस्थागत सुशासन भएको देखाउन र कम्पनी रजिस्ट्रारको कार्यालयको जरिवानाबाट बच्न अन्तिम समयमा आएर सभा बोलाउने गर्छन् ।
कम्पनी ऐन २०६३ को दफा ७६ अनुसार पब्लिक कम्पनीको रुपमा स्थापना भएका कम्पनीहरूले पहिलो वर्ष एक वर्षभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था छ । सोहीबमोजिम सूचीकृत भएका सम्पूर्ण कम्पनीहरूलाई पुस महिनाभित्र नै साधारणसभा गर्नैपर्ने बाध्यता हुन्छ । अन्तिम दिन एकैपटक साधारणसभा आह्वान गर्दा आफ्ना गल्तीहरूसमेत ढाकछोप गर्न सघाउ पुग्ने भएकाले धेरै कम्पनीहरूले अन्तिम दिनलाई नै रोज्ने गरेका लगानीकर्ताहरू बताउँछन् । एकैदिन धेरै कम्पनीको सभा भएको कारण सभा गर्ने स्थान पाउनसमेत कम्पनीहरूलाई गाह्रो परेको छ । जसले गर्दा उनीहरूले आफ्नै केन्द्रीय कार्यालयमा सभा गर्ने गरी सूचना जारी गरेका छन् ।
साधारणसभामा मात्रै होइन, त्रैमासिक वित्तीय विवरण प्रकाशनमा समेत कम्पनीहरूको उही पारा देखिन्छ । वित्तीय विवरण पनि त्रैमास सकिएको एक महिनाभित्र सार्वजनिक गर्नुपर्ने हुन्छ । त्यो बेला पनि अन्तिम दिन तीन दर्जनभन्दा धेरै कपनीहरूले एकै दिन वित्तीय विवरण प्रकाशन गर्ने गरेका छन् । एकै दिन धेरै कम्पनीले वित्तीय विवरण प्रकाशन गर्दा लगानीकर्तालाई भने सो विवरण अध्ययन गर्ने कठिन हुने गरेको छ ।सेयर बजार



















