कोरोनाविरुद्धको १० लाख मात्रा खोप नेपाल आइपुग्यो

काठमाडौं । भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौँ आइपुगेको छ । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा खोप बोकेको एयर इन्डियाको विमान त्रिभुवन आज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
नेपाली अधिकारीहरु खोप बुझ्न विमानस्थल पुगेका छन् । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्च्यिुट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाल ल्याइएको हो ।
सरकारले सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी रहेको छ ।