आईपीओ निष्काशनको पाइपलाइनमा दर्जन कम्पनी « Arthapath.com
१६ माघ २०७७, शुक्रबार

आईपीओ निष्काशनको पाइपलाइनमा दर्जन कम्पनी



काठमाडौं । सिंगटी हाइड्रोपावर इनर्जीले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । कम्पनीले अंकित मूल्यमा ४३ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले दुई महिनाभित्र आईपीओ निष्काशन गर्नेछ । कम्पनीले दोलखा जिल्लामा १६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । अहिले नेपाल धितोपत्र बोर्डमा कम्पनी आईपीओ निश्कासनका लागि ‘राम्रा’ कम्पनी पाइपलाइनमा छन् । ती हुन्, साहस ऊर्जा, ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तीय संस्था र मध्य–भोटेकोसी जलविद्युत् आयोजना ।

साहस ऊर्जा

यो कम्पनीले ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) आयोजना निर्माण गरिरहेको छ । कम्पनीले स्थानीय र सर्वसाधारणका लागि गरी एक करोड ५ लाख कित्ता सेयर निष्काशन गर्नेछ । बिक्री प्रबन्धकका रूपमा एनआईबीएल एस क्यापिटलले जिम्मा लिएको छ । सोलुखुम्बुको दूधकोशी गाउँपालिकामा निर्माण भइरहेको ८६ मेगावाटको आयोजना
निजी क्षेत्रबाट बनिरहेको आयोजनामध्येकै ठूलो हो । सुख्खायाममा पनि अरूको तुलनामा यो आयोजनाबाट उत्पादन हुने विद्युत्को दर उच्च हुने कम्पनीको दावी छ ।

ज्योति लाइफ इन्स्योरेन्स

पछिल्लोपटक सञ्चालनमा आएका बीमा कम्पनीमध्येको एक हो, ज्योति लाइफ इन्स्योरेन्स । कम्पनीले ६६ लाख कित्ता सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । सेयर बिक्री प्रबन्धकका रूपमा एनएमबी क्यापिटल छ । सञ्चालनमा रही नाफामा गइसकेको कम्पनी भएकाले यसको सेयर दोस्रो बजारमा मूल्यवान हुने अनुमान छ । पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी १८ रूपैयाँ ७६ पैसा छ भने प्रतिशत नेटवर्थ १३३ रूपैयाँ २३ पैसा छ । सो अवधिसम्म ५४ करोड ५७ लाख रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

महिला लघुवित्त वित्तीय संस्था कम्पनी

महिला लघुवित्त वित्तीय संस्था कम्पनीले ४ लाख कित्ता प्राथमिक सेयर निष्काशनका लागि बोर्डसँग अनुमति मागेको छ । सेयर बिक्री प्रबन्धकका रूपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ छ । दोस्रो बजारमा लघुवित्त कम्पनीहरूले राम्रो मूल्य पाउने गरेका छन् । यो कम्पनीको
आइपिओ पनि आकर्षणमा देखिएको छ ।

मध्य–भोटेकोसी जलविद्युत्

कम्पनीले एक करोड ५० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न अनुमति मागेको हो । बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल छ । कम्पनीले १०२ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ । चिलिमे हाइड्रोपावरको सेयर संरचना सबभन्दा धेरै ३८ प्रतिशत तथा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत सेयर संरचना कम्पनीमा छ ।

डिस मिडिया नेटवर्क

डिस मिडिया नेटवर्कले २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निष्काशनका लागि आवेदन मागेको छ । टिभी च्यानल प्रदायक डिसहोमको यो सेयर निष्काशनका लागि बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल छ ।

अन्य समूहको यो कम्पनी हाल सूचीकृतमध्ये फरक प्रकृतिको कम्पनी भएकाले आकर्षणका रूपमा लिइएको छ । यीबाहेक अरू कम्पनी पनि सेयर निष्काशनका लागि धितोपत्र बोर्डको पाइपलाइनमा छन् ।

न्यादी हाइड्रोपावर कम्पनीले स्थानीय प्रभावित र सर्वसाधारणका लागि गरी कुल ४० लाख ५० हजार कित्ता आईपीओ निष्काशनको अनुमति मागेको छ । कम्पनीले लमजुङको न्यादी खोलाबाट विद्युत उत्पादन गर्नेछ । ३० मेगावाट क्षमता रहेको कम्पनीको मुख्य स्टेकहोल्डर बुटवल
पावर कम्पनी हो ।

तेह्रथुम पावरले स्थानीय र सर्वसाधारणका लागि १२ लाख कित्ता सेयर निष्काशनको अनुमति मागेको छ । हिमालयन हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि गरी कुल २२ लाख ५० हजार कित्ता सेयर निश्कासनको अनुमति मागेको छ । त्यस्तै, विन्ध्यबासिनी हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि कुल २५ लाख कित्ता सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ ।

मर्चेन्ट बैंकर कम्पनी सीबीआईएल क्यापिटलले तीन लाख कित्ता सेयर निष्काशनका लागि अनुमति मागेको छ । यो सिटिजन्स बैंक इन्टनेशनलको सहायक कम्पनी हो । मैलुङ खोला जलविद्युत् कम्पनीले ७ लाख ३६ हजार २८६ कित्ता निष्काशनका लागि आवेदन दिएको छ । ग्रिनलाइफ हाइड्रोपावर कम्पनीले ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्काशन गर्न चाहेको छ । रूरू जलविद्युत् आयोजनाले ८ लाख १५ हजार ४११ कित्ता सेयर निष्काशन गर्न स्वीकृति मागेको छ


प्रतिक्रिया दिनुहोस्