नक्कली नोट बनाउने काठमाडौँका भट्टसहित दुई पक्राउ

काठमाडौं । नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट पक्राउ गरेको हो ।
नेपाल(भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र काठमाडौँ महानगरपालिका–१४ बौद्धका ३३ वर्षीय विष्णु भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनीहरुको साथबाट नक्कली एक हजारको एक थान र ५०० का दुई थान नोट बरामद गरिएको छ । यसैगरी विभिन्न नोटको साइजमा काटिएका पेपर ३८० थान, काठको केमिकल राखेको भाँडो एक थान र स्टिलका थाल दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ ।