गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको उधारो यात्रा, नौ करोड २५ लाख उधारो नाघ्यो « Arthapath.com
२७ माघ २०७७, मंगलवार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको उधारो यात्रा, नौ करोड २५ लाख उधारो नाघ्यो



काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म रु नौ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा उधारोमा काम गर्नुपरेको हो ।

रङ्गशाला निर्माण गरिरहेको धुर्मस–सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनाका अनुसार हालसम्म रु ४१ करोड ८८ लाख चार हजार ९३६ खर्च भइसकेको छ । सोमध्ये सोमबारसम्म प्राप्त बिलअनुसार रु नौ करोड २५ लाख भुक्तान गर्न बाँकी छ । हरेक महिनाको अन्त्यमा निर्माण सामग्री र रेडिमिक्सको बिल आउने भएकाले माघ मसान्तसम्म उधारो थपिने उनको भनाइ छ । उनका अनुसार माघ मसान्तसम्म रु १० करोडभन्दा बढी उधारो हुनेछ ।

हालसम्म रङ्गशाला निर्माणका लागि रु ३१ करोड ८३ लाख ८३ हजार आम्दानी भएको छ । सबैभन्दा बढी भरतपुर महानगरपालिकाले रु आठ करोड, वाग्मती प्रदेश सरकारले रु तीन करोड सहयोग गरेका छन् । महायज्ञमा बोलकबोल रु ६९ करोड ४५ लाख ५६ हजार भएकामा जम्मा रु नौ करोड ११ लाख ६५ हजारमात्रै प्राप्त भएको तिमिल्सिनाले जानकारी दिए । महायज्ञमा रु एक करोडभन्दा बढी आठवटा संस्थाले कबोल गरेका थिए । वाग्मती प्रदेश सरकारले रु ३० करोड, भरतपुर महानगरपालिकाले रु १६ करोड ७५ लाख, जिल्ला समन्वय समिति चितवनले रु दुई करोड २२ लाख, वामदेव गौलीले रु एक करोड १२ लाख बराबरको जग्गा, नेपाल एलपी ग्यास उद्योगले रु एक करोड, गैँडाकोट नगरपालिकाले रु एक करोड बराबरको काठ, नेपाल पोल्ट्री महासङ्घले रु एक करोड र ग्लोबल आइएमई बैंकले रु एक करोड बोलकबोल गरेका थिए । ग्लोबल आईएमई बैंकले पूरै र पोल्ट्री महासङ्घले रु ३० लाखबाहेक अन्यले कबोलको रकम भुक्तान नगरेको तिमिल्सिनाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्