बोनश सेयर तपाईंको खातामा आउन कति लाग्छ ? « Arthapath.com
६ फाल्गुन २०७७, बिहीबार

बोनश सेयर तपाईंको खातामा आउन कति लाग्छ ?



काठमाडौं । कम्पनीहरूले सेयरधनीलाई घोषणा गरेको लाभांशबापत पाएको नगद र बोनस सेयर साधारणसभा सम्पन्न भएको ३० दिनदेखि ४५ दिनसम्ममा लगानीकर्ताहरूको खातामा आउने नेपाल धितोपत्र बोर्डले जनाएको छ । नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीकाअनुसार सबै कम्पनीहरूले सबैभन्दा पहिले आफ्नो संस्थाको सञ्चालक समितिको बैठकबाट लाभांश प्रस्ताव गर्दछन् । त्यसपछि लाभांश प्रस्ताव प्रत्यक्ष नियमनकारी संस्थालाई जानकारी गराई त्यहाँबाट स्वीकृतिप्राप्त गरेपछि कम्पनीले वार्षिक साधारणसभाबाट अनुमोदन गराउँछन् ।

कम्पनीको स्वीकृत पुँजी बोनश सेयर थप गर्दा पुग्ने अवस्थामा भएका कम्पनीहरूको बोनश सेयर लगानीकर्ताहरूले छिट्टै पाउन सक्छन् भने स्वीकृत पुँजी बढाउनुपर्ने अवस्थाका कम्पनीहरूको बोनश सेयर आउन भने केही समय बढी लाग्दछ । जस्तो कुनै कम्पनीहको हालको स्वीकृत पुँजी १ अर्ब रुपैयाँ छ, तर अहिलेको चुक्ता पुँजी जम्मा ९० करोड रुपैयाँ छ भने त्यस्ता कम्पनीहरूले १० करोड रुपैयाँ बराबरको बोनश सेयर वितरणका लागि कम्पनीको साधारणसभा सम्पन्न भएको ढिलामा १ महिनाभित्र नेपाल धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने हुन्छ ।

यसरी सबै कागजात पुगेका कम्पनीहरूको बोनश सेयर साधारणसभा सम्पन्न भएको ३० दिनदेखि ४५ दिनसम्ममा लगानीकर्ताहरूको खातामा आउने गर्दछ । त्यसैगरी, कुनै कम्पनीको स्वीकृत पुँजी १ अर्ब छ र अहिलेको चुक्ता पुँजी पनी १ अर्ब रुपैयाँ बराबरकै छ भने त्यस्ता कम्पनीहरूले बोनश सेयर वितरण गर्नुपूर्व कम्पनीको पुँजीलाई बृद्धि गर्नुपर्ने हुन्छ । त्यसका लागि साधारण सभाबाट कम्पनीको पुँजी बृद्धिको र्निणय गराई कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृत गराउनुपर्ने हुन्छ ।

कम्पनी रजिष्टारको कार्यालयबाट पुँजी बृद्धिको अनुमति पाएपछि त्यस्ता कम्पनीहरूले अनुमति पाएको १५ दिनभित्रमा धितोपत्र बोर्डमा बोनस वितरणका लागि निवेदन दिनुपर्ने हुन्छ । यसरी हेर्दा स्वीकृत पुँजी पुगेका कम्पनीहरूको लाभांश केही छिटो लगानीकर्ताहरूले प्राप्त गर्दछन् भने स्वीकृत पुँजी नगुगेका कम्पनीहरूको बोनश सेयर वितरणमा भने केही समय लाग्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्