यसकारण पर्यो विसं २०७८ मा तीनवटा दशैँ « Arthapath.com
१७ फाल्गुन २०७७, सोमबार

यसकारण पर्यो विसं २०७८ मा तीनवटा दशैँ



काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैतेदशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ ।

यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ परेको छ । बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुने छ ।

असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुनेछ । दशैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।

चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् । शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दशैँलाई नेपालीले महत्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका छन ।


यस वर्ष विसं २०७७ असोजमा मलमास (अधिकमास) परेकाले विसं २०७८ मा तीन वटा दशैँ परेको धर्मशास्त्रविदहरुले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्