सेयर किनबेच गर्दा नेपाल क्लियरिङ हाउसको ठगीको मारमा लगानीकर्ता « Arthapath.com
२० चैत्र २०७७, शुक्रबार

सेयर किनबेच गर्दा नेपाल क्लियरिङ हाउसको ठगीको मारमा लगानीकर्ता



काठमाडौं । सेयर खरिद–बिक्रीबापत् भुक्तानी गर्दा लगानीकर्ताले दोहोरो शुल्क तिर्नुपरेपछि तीव्र विरोध हुन थालेको छ । सेयर किनबेच गर्दा खरिद–बिक्रीबापत्को र कम भुक्तानी अनिवार्यरुपमा विद्युतीय माध्यमद्वारा गर्नुपर्ने व्यवस्था छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को कनेक्ट आईपीएसमार्फत सेयर खरिद बापत रकम भुक्तानी गर्दा र सेयर बिक्री गरेपछि पाउनुपर्ने रकममा समेत लगानीकर्ताहरूले आईपीएस चार्ज २ देखि १५ रुपैयाँ तिरिरहेका छन् । यसको अर्थ सेयर किन्दा र बेच्दा नै भुक्तानी हस्तान्तरण शुल्कका नाममा लगानीकर्तामाथि दोहोरो भार पार्ने काम भइरहेको छ ।

पछिल्लो समयमा ५ लाख बढी लगानीकर्ता दोस्रो बजारमा सक्रिय छन् र औसत सेयर दैनिक कारोबार संख्यामात्रै ८० हजार हाराहारी भइरहेका छन् । अर्बौंको टर्न ओभर हुँदा सबै लगानीकर्ताले दोहोरो शुल्क तिर्नुपर्ने बाध्यता रहेको देखिन्छ । सबैतिर विविध शीर्षकमा विविध दस्तुर तिर्दातिर्दा पिल्सिएका लगानीकर्ताहरूमाथि एनसीएचएलको आईपीएस चार्जले मर्का परिरहेकोलगानीकर्ताहरूको गुनासो छ ।

महंगो ब्रोकर कमिशनकासाथै सीडीएसले हरेक कारोवारमा लिने २५ रुपैयाँको डिपी शुल्क संसारमै महंगो शुल्कको रुपमा चिनिन्छ । तर, धितोपत्र बोर्डले यसबारे कुनै चासो दिएको छैन । आईपीएस चार्ज कम गर्ने विषयमा संघका तर्फबाट बोर्डसमक्ष पहल भइरहेको बताइए पनि लामो समयदेखि कुनै प्रगति भएको छैन । एनसीएचएलको आईपीएस शुल्कमा लगानीकर्तामाथि थोपरिएको दोहोरो शुल्क अमान्य हुने उल्लेख गर्दै दबाब समूहका महासचिव नयन बास्तोलाको कारोबार संख्या धेरै भएकाले सो शुल्क एकतर्फीमात्र हुनुपर्ने अडान छ । सक्रिय सेयर लगानीकर्ता किशोरकुमार श्रेष्ठ एनसीएचएलले कनेक्ट आईपीएस चार्जबापत् लगानीकर्ताबाट दोहोरो शुल्क असुल गरिरहेको विषयमा नयाँ लगानीकर्ता नै जानकार नभएको बताउँछन् ।

लाभग्राहीले मात्र सो शुल्क तिर्न‘पर्ने उनको ठहर छ । बढ्दो बजारमा न्यून शुल्क थोरै देखिए पनि कालान्तरसम्म लगानीकर्तालाई सेयर खरिद–बिक्री बापत्को आईपीएस शुल्कबाट दोहोरो मार पर्ने देखिन्छ । अनिवार्यरुपमा विद्युतीय माध्यमद्वारा सेयर खरिद–बिक्रीबापत् को रकम भुक्तानी एनसीएचएलको कनेक्ट आईपीएस शुल्कबापत्को लगानीकर्तामाथि थपिएको दोहोरो भारका विषयमा भने नियामक नेपाल धितोपत्र बोर्डले आवश्यक कदम चाल्न आवश्यक देखिन्छ । लगानीकर्ताहरूको हकहितका लागि स्थापित धितोपत्र बोर्डले सेयर किनबेचमा रकम हस्तान्तरणमा लाग्दै आइरहेको दोहोरो शुल्कबाट मुक्त गर्नुपर्छ ।सेयर बजार


प्रतिक्रिया दिनुहोस्