सेयर नामसारीमा दोहोरो शुल्कः लगानीकर्ता झुक्किएर तोकिएको शुल्कभन्दा बढी पैसा तिर्दै
काठमाडौं । बढ्दो सेयर बजारमा ठूलो संख्यामा लगानीकर्ता भित्रिरहेका छन् । तर अधिकांश लगानीकर्ताहरूले सेयर स्थानान्तरणमा चर्को शुल्क तिरिरहेका छन । सेयर ट्रान्सफर (स्थानान्तरण) सेवा उपयोग गरेबापत प्रायः लगानीकर्ताले झुक्किएर तोकिएको शुल्कभन्दा बढी पैसा तिर्ने गरेको पाइएको हो ।
नियमअनुसार एउटा डीपीबाट अर्को डीपीमा सेयर ट्रान्सफर गर्दा प्रतिव्यक्ति जम्मा १०० रुपैयाँ तिरे पुग्छ । तर, लगानीकर्ताले आफूसँग भएको सेयर ट्रान्सफर गर्दा प्रतिकम्पनी नै १०० रुपैयाँका दरले तिर्ने गरेको पाइएको छ । सेयर ट्रान्सफर गर्दा सीडीएससीमा निश्चित शुल्क बुझाउनुपर्ने हुन्छ । अर्थात् प्रतिव्यक्ति १०० रुपैयाँ तिरे पुग्छ । सेयर ट्रान्सफरको सिफारिस लिँदा डीपीमा लगानीकर्ताहरूले प्रतिकम्पनी २५ रुपैयाँ तिर्नुपर्छ । तर, लगानीकर्ताहरू पुनः उक्त सिफारिस सीडीएससीमा लिएर जाँदा फेरि प्रतिकम्पनी सेयर ट्रान्सफर गर्दा १०० रुपैयाँका दरले बैंकमा जम्मा गरेर भौचर बुझाउँछन् । तर, डीपीमा प्रतिकम्पनी २५ रुपैयाँ तिरे पनि सीडीएससीमा जतिवटा कम्पनीको सेयर ट्रान्सफर गर्दा पनि प्रतिव्यक्ति १०० रुपैयाँमात्र तिरे पुग्छ भन्ने कुरा आम लगानीकर्ता कमैलाई मात्रै थाहा हुँदा भूलवश यस्तो भएको हो ।
सीडीएससीमा बीओ टु बीओ सेवा लिँदा प्रतिव्यक्ति १०० रुपैयाँ, नाम–थर सच्याउनु परे पनि प्रतिव्यक्ति १०० रुपैयाँ र भुलवश डीपीले एक व्यक्तिको सेयर अर्को व्यक्तिमा पठाएमा त्यस्ता सेयर ट्रान्सफर गर्नुपरे १०० रुपैयाँमात्रै तिरे पुग्छ । नाबालकबाट–साबालकमा सेयर ट्रान्सफर गर्नुपरेमा भने कुनै शुल्क तिर्नुपर्दैन । यी सेवामा लगानीकर्ताले भूलवश बढी शुल्क तिरेमा सीडीएससीले फिर्ता गर्ने गरेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । ‘एकाधले थाहा नपाउँदा बढी शुल्क तिर्ने गरेका छन्’, उनले भने, ‘हामीले बढी पैसा तिरेको थाहा पाउनेबित्तिकै कागजी प्रक्रिया पूरा गरी सम्बन्धित सेवाग्राहीलाई नै पैसा फिर्ता गर्ने गरेका छौँ ।’


















