डिम्याट खाता ३५ लाख नाघ्यो, दोस्रो बजार अनलाइन कारोबार १७ गुणाले बढ्यो: अध्यक्ष ढुंगाना « Arthapath.com
२७ जेष्ठ २०७८, बिहीबार

डिम्याट खाता ३५ लाख नाघ्यो, दोस्रो बजार अनलाइन कारोबार १७ गुणाले बढ्यो: अध्यक्ष ढुंगाना



काठमाडौं । सेयर बजारमा सर्वसाधारणको सहभागिता उच्च दरमा बढेको छ । एक बर्षको अवधिमा डिम्याट खाता खोल्नेको संख्या शतप्रतिशत बढेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । २०७७ साल असारसम्ममा डिम्याट खाता खोल्नेको संख्या १७ लाख रहेको थियो ।

चालु आर्थिक बर्षको ११ महिनामा ३५ लाखभन्दा बढीले डिम्याट खाता खोलेका हुन् । जेठ २७ गतेसम्मको तथ्याङ्क अनुसार ३५ लाख ४९ हजार २४७ जनाले डिम्याट खाता खोलेको खोलेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

धितोपत्र बजारको विकास तथा विस्तारको लागि बोर्डले पछिल्लो समय चालेका कदमका कारण बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनकरूपमा बढदै गएको नेपाल धितोपत्र बोर्ड (सेवोन) का अध्याक्ष भीष्मरा ढुंगानाले बताए । उनका अनुसार, २०७७ असारसम्ममा करिब १७ लाखको संख्यामा रहेको डिम्याट खाताको संख्यामा करिब शत प्रतिशतको वृद्धि भै हाल ३५ लाख नाघेको छ ।

त्यस्तै, एक बर्षको अवधिमा मेरो शेयर खाताको संख्या साढे ३ गुणाले बढेको अध्यक्ष ढुंगानाले बताए । उनले भने, “२०७७ असारमा करिब ७ लाखको हाराहारीमा रहेको मेरो शेयर खाताको संख्या समेत एक वर्ष नपुग्दै करिब साढे तीन गुणा भन्दा बढिले वृद्धि भै हाल करिब २६ लाख पुगिसकेको छ ।”

धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशनमा गत वर्षसम्म मुस्किलले ५ लाखले भाग लिने गरेकोमा हाल एउटै निष्काशनमा करिब १८ लाखले आवेदन दिने गरेको ढंगाना बताउँछन् ।

धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि करिब ३५ हजारले युजर आईडि लिएकोमा यस अवधिमा उक्त संख्यामा उल्लेखनिय वृद्धि (करिब १७ गुणा भन्दा बढी) भै करिब ६ लाख ६० हजार रहेको छ भने औसतमा ६ लाख लगानीकर्ताहरू कारोबारमा सक्रिय रहेको देखिन्छ । यसले पूँजी बजारमा लगानीकर्ताहरू क्रमशः प्रविधिमैत्री हुँदै गएको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्