उदयपुर सिमेन्टले सरकारलाई ३ अर्व ऋण तिर्न सकेन, सरकारले सेयरमा परिणत गर्ने
काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले सरकारलाई तिर्नुपर्ने ३ अर्व ऋण तिर्न नसकेको हो । कम्पनीले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको साधारण सेयर सरकारले इक्वीटीमा परिणत गर्ने जनाएको छ ।
उद्योगको नाममा रहेको ऋणको साँवा रकम १ अर्ब ७२ करोड ५० लाख र ब्याज रकम १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ समेत गरी ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ सरकारलाई तिर्नुपर्ने छ ।
उद्योगको जेठ ३० गते, आइतबार सम्पन्न साधारण सभाले सो रकम बराबारको सेयर सरकारलाई दिने प्रस्ताव पारित गरिसकेको छ । उद्योगले नेपाल सरकारलाई तिर्नुपर्ने साँवा–ब्याज रकम राफसाफ गर्ने योजना गरेको छ ।
त्यसैगरी उद्योगको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ । उद्योगको १४ आर्थिक वर्षयता हुन नसकेको साधारणसभा एकैपटक सम्पन्न गरेको हो ।