आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेष्डो लघुवित्त धितोपत्र बोर्ड पुग्यो

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेष्डो समृद्ध लघुवित्तले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
नेष्डो समृद्ध लघुवित्तले आईपीओ निष्कासन गर्न अनुमति माग्दै अषाढ ६ गते, आइतबारबा दिन धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ सर्वसाधारण (संस्थाका कर्मचारी र सामूहिक लगानी कोषसमेत) का लागि निष्कासन गर्ने भएको हो।
संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
पर्वतको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको यो संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो । संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थापक समूहको ७० प्रतिशत सेयर रहेको संस्थामा दुईवटा संस्था र ८१ जना संस्थापक सेयरधनीबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँबराबरको सेयरपुँजी चुक्ता भइसकेको छ ।