महामारीले बढाउँदै छ महिला हिंसा, मेलमिलापले झनै पीडा थप्दै « Arthapath.com
२१ असार २०७८, सोमबार

महामारीले बढाउँदै छ महिला हिंसा, मेलमिलापले झनै पीडा थप्दै



उषा रेग्मी

नुवाकोट । नुवाकोटको ककनी गाउँपालीका वडा नम्बर ४ की मनमायाँ तामाङको मन उनको नामजस्तै शान्त छैन । दुई छोराकी आमा बनिसकेकी उनी तारन्तारको घरेलु हिंसाको शिकार बनिसकेकी छन् । सहिनसक्नु नभएपछि गत सालको भदौमा त उनले आफू घरेलु हिंसामा परेको भन्दै प्रहरीमा उजुरी नै दिइन् । श्रीमान कान्छा लामाले अर्की श्रीमती विवाह गरेर बसेको र आफूलाई शारीरिक एवम् मानसिक दुव्र्यव्यहार गर्दै आएको भन्दै उनले प्रहरी गुहारेकी थिइन् ।

उनको कुरा सुनुवाइ त भयो तर श्रीमानलाई कारबाही भएन । परिवारका अग्रज र प्रहरीमात्र होइन, छिमेकका राजनीतिक नेताले पनि उनलाई घर कलह नचर्काउन आग्रह गरे । गाउँपालीकाको मेलमिलाप केन्द्रको पहलमा उनका श्रीमानलाई आइन्दा हिंसा नगर्ने शर्तमा छाडियो । परिवारमा कागजी घटना मेलमिलाप भयो ।

तर व्यवहारमा भने त्यस दिनदेखि मनमायाँ झनै पीडित बनिन् । उनीमाथि पारिवारिक हिंसा अझै चर्कियो । ‘सबैको अगाडी त अबदेखि दुब्र्यवहार गर्दिन भन्नुभएको थियो,’ उनी सुनाउँछिन्, ‘मेलमिलाप गरेर घर फर्केदेखि नै उन (श्रीमान)को व्यवहार पहिलेभन्दा पनि डरलाग्दो भयो ।’ आफूलाई मात्र होइन, आफ्ना कलिला छोराहरुलाई पनि श्रीमान र परिवारका अरु सदस्यले कुटपिट गर्ने, गालिगलौज गर्न थाले ।

कमाइ गर्ने बाटो नहुँदा उनलाई अहिले श्रीमानको पिटाइले भन्दा कलिला छोराहरुको खालि पेटले बढी दुख्छ । ‘आफ्नो भन्ने लोग्नेले नै वास्ता नगरेपछि परिवारका अरु मान्छेले पनि हेलाहा गर्दा रहेछन्’, उनी भन्छिन्, ‘छोराहरुलाई के ख्वाएर पाल्ने र कसरी पढाउने भन्ने तनावले साह्रै गाह्रो बनाएको छ ।’ १० वर्षअघि विहे गरेर लगत्तै बच्चा जन्माएपछि परिवारको दुःख टार्न विदेश हानिएकी उनी विदेशमा कमाएको पैसा श्रीमानले मस्तिमा सक्काएको बताउँछिन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोट

विदेशबाट फर्केपछि फेरि अर्को सन्तान भएको उनी बताउँछिन् । यतिञ्जेलसम्म आफूले कमाएर ल्याएको सम्पत्ती सकिएपछि श्रीमानले यातना दिन थालेको उनले सुनाइन् । नजिकको शहर काठमाडौंमा गएर रोजगारी गर्न पनि महामारी र निषेधाज्ञाले समस्या भएको उनी सुनाउँछिन् । ‘काठमाडौं गएर केही काम गरेर बस्न पाए पनि यहाँको कुटपिट सहनु पर्दैन थियो’, उनी भन्छिन्, ‘तर गाडि बन्द हुँदा जति गालि, खप्की र पिटाइ खाएर पनि गाउँमै बस्नुपर्ने बाध्यता भएको छ ।’

बेलकोटगढीकी सुनिता थापा ( नाम परिवर्तित )को व्यथा पनि उस्तै छ । परिवारको खुसी थेग्न बाआमाले खोजिदिएको केटासँग तीन वर्ष अघिमात्रै विबाह बन्धनमा बाँधिएकी उनीसँग विवाहपछिको सुन्दर भविष्यको कल्पना थियो । नयाँ नातामा जोडिने परिवारको सुमधुर सम्बन्ध, आर्थिक उन्नती र शान्तिपूर्ण जीवन जिउने अभिलाषा ।

त्यहि ‘सुख’को खोजिमा यो नवदम्पत्ती शहर पस्यो । रोजगारीको अवसर खोज्न । शहरमा दुबै जनाले काम पनि पाए । कहिले प्रेम, अहिले तिरस्कारको उतारचढावमा दिन वित्दै थिए । तर एक्कासी कोरोनाको महामारी फैलियो । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनेर सरकारले लकडाउन घोषणा गरिदियो । त्यसपछि उनीहरुका रोजगारी खोसियो । शहरमा बसिरहने संभावना देखिएन ।

अरु धेरै श्रमजीविजस्तै सुनिताको परिवारले पनि महामारी छल्न शहर छोड्नुपर्यो । उनीहरु गाउँ फर्किए । शहरमा कमाएको पैसा उतै सकेर गाउँ पुगेपछि उनी तनावमा परिन् । अप्ठेरो परिस्थितिमा त घर पुगेपछि शान्ति र सुरक्षित हुनु पर्ने हो । तर सुनितालाई त्यस्तो लागेन । उल्टै श्रीमान र घरपरीवारबाट दुव्र्यवहार हुन थाल्यो ।

गाउँ फकेपछि श्रीमानले सधैंजसो लागुपदार्थ सेवन गरेर कुटपिट गर्न थाले । घरपरीवारबाट पनि श्रीमानलाई नै साथ भयो । गल्ति गर्ने छोरालाई सम्झाएर हुन्छ की, गालि गरेर हुन्छ तहमा राख्नुपर्ने अभिभावकले बुहारीलाई नै गलत देख्न थाले । घर कलहको तारोमा परिन् उनी । एकले अर्काको रिस पोख्नुपर्दा उनीमाथि दबाब थुपार्न थाले । ‘मलाई त सबैले दुव्र्यवहारनै गर्न थाले’, उनी भन्छिन्, ‘घरमा बस्नै नसक्ने भएपछि म अहिले माइत आएर बसेकी छु ।’

सुनिताले गत असोजमा जिल्ला अदालत नुवाकोटमा आफू श्रीमानसँगै बस्न नसक्ने भन्दै सम्बन्ध विच्छेदको माग गर्दै मुद्दा दायर गरेकी छन् । उनका श्रीमान रामबहादुरले दोस्रो विवाह गरिसकेका छन् । कोरोना संक्रमणको कारण अदालतबाट प्रवाह हुने सेवा अवरुद्ध हुँदा उनको मुद्दामा फैसला आउन सकेको छैन ।

यी प्रतिनिधी घटनाहरुले कोरोना महामारीपछि घरेलु हिंसा बढेको मात्र होइन, न्याया निरुपणमा पनि ढिलाइ भएको दृष्टान्त पस्केका छन् । संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउन घोषण गरेपछि आवतजावतमा समस्या हुँदा घरभित्रका महिला हिंसाका घटनाहरु बाहिर आउन समेत सकेका छैनन् । आकल–झुकल सार्वजनिक भएका घटनामा पनि पीडितलाई न्याय दिनुको साटो मेलमिलापका नाममा पीडितलाई थप पीडा दिने परिपाटीको विकास भएको छ ।

विगत लामो समयदेखि महिलाहरुको क्षेत्रमा काम गदै आएका संघ संस्थाका प्रतिनिधिहरु कोरोना महामारीका कारण लकडाउन घोषणा भएपछि घरेलु हिसांका घटनाहरु पहिलेभन्दा पनि निकै बढेको बताउँछन् । महामारीमा रोजगारी गुमेसँगै परीवार पाल्न आर्थिक समस्या चर्किएकाले पनि कतिपय महिलामाथि हिंसा बढ्न थालेको अधिकारकर्मीहरुको बुझाइ छ ।

कतीपय घटनामा कोरोना भगाउन भन्दै जाँड रक्सीको सेवन गरेर श्रीमतीलाई कुटपीट गर्ने घटना समेत बढेको पाइएको नुवाकोटमा महिला सिंसाविरुद्ध पैरवी गर्दै आएको संस्था कोसेली नेपालकी अध्यक्ष अस्मिता थापा बताउँछिन् ।

‘सरकारी कार्यालयहरु बन्द हुने र यातायात पनि बन्द भएकाले पीडितहरु न्याय माग्न समेत सकिरहेका छैनन्,’ अस्मिता भन्छिन्, ‘पहिले पीडितलाई सहयोग गर्ने व्यक्ति र संस्थाहरु पनि अहिले महामारीको डरले कार्यक्षेत्रमा निस्कन सकेका छैनन् ।’ यसले पनि हिंसाका घटनाहरु बढ्नमा सघाउ पुगिरहेको उनले बताइन् ।

त्यसो त जिल्ला प्रहरी कार्यलय नुवाकोटसँग कोरोना संक्रमणपछि कति जना महिलाहरु घरेलु हिंसा र दुव्र्यवहारको शिकार हुन पुगे भन्ने एकीन तथ्यांक छैन । बन्दाबन्दी र महामारीको त्रासका कारण हिंसामा परेका महिलाहरु न्याय माग्न आउनै नसकेको अधिकारबादीहरुको भनाइ छ ।
यही कारणले कतीजना महिलाहरु घरेलु हिसाका शिकार बन्न पुगे भन्ने तथ्यांक प्राप्त गर्न पनि नसकिएको महिला मानव अधिकार रक्षकको जिल्ला सञ्जाल अध्यक्ष अञ्जली पाण्डेले बताइन् । ‘हिंसा बढे पनि यातयात बन्द रहेकाले आवतजावत नहुदा उनीहरु हिसांलाई घरभित्रै लुकाएर बस्न बाध्य छन्,’ उनले भनिन् ।

घरेलु हिसांमात्र नभएर हाल मनोसामाजीक समस्याका शिकार बनेकाहरुलाई पनि झन् समस्या भएको पाण्डे बताउँछिन् । मानसिक तवानका कारण सिर्जना भएका मानसिक रोगी महिलाहरु पनि अहिले अतिरिक्त समस्यामा परेका छन् । यातयाका साधन बन्द हुदा उनीहरु अस्पतालसम्म आएर थप औषधि उपचार गर्न पाएका छैनन् । रोजगारी गुमेका कारण आर्थिक समस्याले गर्दा पनि उनीहरुको अवस्था झनै जटिल बन्दै गएको उनको बुझाइ छ ।

घरेलु हिसांकै कारण कतिपय महिलाहरु आत्महत्या गर्न बाध्य हुने गरेको अधिकारबादीहरु बताउँछन् । आर्थिक, सामाजिक, शारीरिक, मानसिक एवम् भौतिक हिंसाको उपज आत्महत्या बनेको छ । यसलाई बढाउने काम सामन्य घरेलु हिंसाबाट शुरु हुने पाण्डे बताउँछिन् । ‘जब मानिसलाई शारीरिक, मानसिक र भौतिक रुपमा नै दुव्र्यवहार हुन थाल्छ, उनीहरु आत्महत्यकाको बाटो रोज्न बाध्य हुन्छन्’, उनी भन्छिन् ।

लकडाउन सुरु भएयता नुवाकोटमा मात्रै १२ वटा आत्महत्याका प्रयास भएको महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्था टिपीयो नेपालकी जिल्ला संयोजक तथा मनोविमर्शकर्ता रूपा राईले बताइन् । आर्थिक, सामाजिक समस्या तथा श्रीमान र घरपरीवारबाट हुने दुव्र्यवहारका कारण उनीहरुले आत्महत्याका प्रयास गर्ने गरेको राई बताउँछिन् ।

काम नभएपछि श्रीमान श्रीमती घरमै बसरीरहँदा वैचारिक विमर्श हुने र यसैबाट मनमुटाव बढ्ने अवस्था समेत कतिपय घटनामा पाइएको उनले बताइन् । ‘आर्थिक समस्यामा जेलिएपछि पुरुषहरुले लागुपदार्थको सेवन गरेर श्रीमतीमाथि मानसिक दबाब दिने खालका घटना पनि बढेका छन्’, उनले भनिन् ।

कोरोना भाइरसको संक्रमणको कारण पहिलो पटक २०७६ चैत ११ गतेदेखि असारसम्म जारी रहेको लकडाउनमा यस्ता घटनाहरु निकै बढेका थिए । त्यसबेला घरेलु हिंसा, यौनजन्य हिंसाका घटनाहरु जिल्ला प्रहरी कार्यालयमा उल्लेख्य संख्यामा दर्ता भएका पनि थिए ।

तर दोस्रो चरणको निषेधाज्ञामा भने यस्ता घटना बाहिर नआएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । अधिकारबादीहरुले भने न्यायिक निकायको जानकारीमा नआएकै कारण हिंसाको घटना घटेको मान्न नसकिने बताउँछन् । बरु यस्ता घटना बढ्दै गएको उनीहरुले बताए । यस्ता हिंसाका घटनालाई कम गर्न स्थानीय सरकारको भूमिका समेत महिलामैत्री बनाउनुपर्ने उनीहरुको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्