सामाजिक सुरक्षा कोषविरुद्ध दायर रिटमा जीफन्टका वकिलले बहस गर्दा कर्मचारी सशंकित ! « Arthapath.com
२५ असार २०७८, शुक्रबार

सामाजिक सुरक्षा कोषविरुद्ध दायर रिटमा जीफन्टका वकिलले बहस गर्दा कर्मचारी सशंकित !



काठमाडौं । सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटमा मंगलबार बहस हुँदा कर्मचारीहरू सशंकित बनेका छन् ।  बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरूले सामाजिक सुरक्षा कोषलाई विपक्ष बनाएर मुद्दा दर्ता गरेको भएपनि त्यहाँ वातावरण फरक देखिएको उनीहरूले बताएका छन् ।

नेकपा एमाले सम्वद्ध कर्मचारीहरूको छाता संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) का वकिलले मुद्दामा बहस गर्दा कर्मचारीहरू ससंकित बनेको हुन् । कोष विरुद्धको मुद्दामा जिफन्टका वकिलहरूले बहस गर्दा आफूहरू सशंकित बनको स्रोतले बतायो । स्रोतका अनुसार जिफन्टले कर्मचारीहरूको हितमा बोल्नुपर्ने थियो तर आफूहरूले उठाएका मुद्दामा राजनीतिकरण गर्न खोजेको आरोप लगाएका छन् । 

गत मंगलबार जिफन्ट र अखिल नेपाल ट्रेड युनियनका तर्फबाट वरिष्ठ अधिवक्ता डा. दिनमणी पोखरेल र भोजराज आचार्य, अधिवक्ताहरू ईश्वरी भट्टराई, भक्तिराम घिमिरे, युवराज लुईटेलले बहस गरेका थिए । 

जिफन्टका वकिलहरूले बहस गर्दा केही समय विवाद उत्पन्न भएको थियो । अर्थपथसँग कुरा गर्दै भने “त्यहाँ एकछिन विवाद पनि भयो, हामीले मुद्दा जिफन्टलाई हालेको त होइन, जिफन्ट किन लागी रहेको छ भन्ने आयो, जिफन्ट हाम्रा विरुद्ध लाग्यो, जिफन्टका वकिलहरु आएका हुनाले झन् शंकास्पद बनायो, कसरी सक्सेस पायो उहाँहरूले ।”

नेपाल सरकारका महान्यायाधिवक्ता रमेश बडाल जिफन्टका उपाध्यक्ष हुन् । गएको मंगलबार (असार २२ गते) यस मुद्दामा अन्तरिम आदेश दिने अपेक्षा कर्मचारीहरूले गरेका थिए तर जिफन्टका वकिलहरूको तर्कका कारण अन्तरिम आदेश नदिएको उनीहरूले दावी गरेका छन् ।  
   
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेकपा एमाले सम्वद्ध  युनियनहरूको छाता संगठन हो । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल जिफन्टका पूर्व अध्यक्ष हुन् । रिमाल कै योजनामा जवरजस्त सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन खोजेको आरोप कर्मचारीहरूले लगाएका छन् । 

जिफन्ट एमाले सम्वद्ध भएकाले पार्टीले ल्याएको योजनामा जुनसुकै हालतमा बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीलाई कोषमा आवद्ध गराउन जोडबल गरेको छ । कर्मचारीहरूले आन्दोलन गरेपछि प्रधानमन्त्रीले चासो राख्दै बैङ्कर्सहरूलाई बोलाएको थियो । प्रधानमन्त्रीका तर्फबाट बोल्दै रिमालले कर्मचारीहरूले राखेका मागहरू पछि मिलाउने भन्दै पछ्याउन खोजेको स्रोतले बतायो । 

सामाजिक सुरक्षा कोषविरुद्ध लागेका केही बैंकका कर्मचारीहरू जिफन्टमा पनि आवद्ध छन् । उनीहरूले जिफन्टले आफ्ना मुद्दाहरूलाई राजनीतिकरण गर्न खोजेको आरोप लगाएका छन् । कोषविरुद्धको मुद्दामा जिफन्टको सदस्यता त्याग्न तयार रहेको तर आफ्ना मागहरू सम्बोधन गराउन पछि नहट्ने उनीहरूले बताएका छन् । 

सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोष विरुद्द परेको रिटमाथि कारण देखाउ आदेश जारी गरेको छ । कर्मचारीहरुले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलको लागि अदालतले असार ३१ गते दुवै पक्षलाई छलफलको लागि बोलाएको हो।


प्रतिक्रिया दिनुहोस्