नेपाल फाइनान्स र ललितपुर फाइनान्सको संयुक्त कारोबार शुरु

काठमाडौं । नेपाल फाइनान्स र ललितपुर फाइनान्सको संयुक्त कारोबार शुरु भएको छ । नेपाल फाईनान्स लिमिटेडले ललितपुर फाईनान्स लिमिटेडलाई प्राप्ति पश्चात आषाढ २७ गते आइतबारदेखि एकिकृत कारोबार शुभारम्भ गरेको छ ।

कान्तिपथस्थित होटल एल्लो प्यागोडामा सम्पन्न कार्यक्रममा दुवै संस्थाका संचालकहरु, नेपाल फाईनान्सका आधारभूत शेयरधनी एवम् उद्योग ब्यवसायी राजेन्द्र शाक्य र नेपाल फाईनान्सका प्रमुख कार्यकारी अधिकृत उध्दवराज थपलिया, ललितपुर फाईनान्सका का.मु. प्रमुख कार्यकारी अधिकृत चन्द्र शेखर खड्का लगाएत सीमित कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
अब ललितपुर फाइनान्सको नामबाट हुने गरेको सम्पूर्ण कारोबार नेपाल फाइनान्सको नामबाट हुनेछ । दुवै कम्पनीलाई नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारले असार १८ गते गाभ्न स्वीकृति दिएको हो ।

ललितपुर फाइनान्सको १ कित्ता सेयर हुने लगानीकर्ताले नेपाल फाइनान्सको १ कित्ता सेयर पाउनेछन् । दुवै संस्थाले गत पुस २३ गते प्राप्ति सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । गत जेठ २८ गते दुवै फाइनान्सको विशेष साधारणसभाले प्राप्ति प्रक्रियालाई पारित गरेको थियो ।

नेपाल फाइनान्स लिमिटेडका संचालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल फाईनान्सका संचालक एवम् संयुक्त प्राप्ति समितिका संयोजक दिप्रश शाक्यले स्वागत मन्तब्यको साथमा समितिले सम्पादन गरेका कार्यहरुको बारेमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको संचालन सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतमले गर्नुभएको थियो । कार्यक्रममा नेपाल फाईनान्सका स्वतन्त्र संचालक आनन्दकृष्ण ताम्राकार र ललितपुर फाईनान्सका अध्यक्ष दिपक महर्जनले शुभकामना ब्यक्त गर्दै प्रारिम्भिक संझौता भएको ६ महिनाभित्रै एकिकृत कार्य सम्पन्न सफल भएको बताए ।

निजि क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा वि.सं. २०४९ सालमा स्थापना भएको नेपाल फाईनान्स लिमिटेड र ललितपुर जिल्लाको पहिलो फाईनान्स कम्पनी ललितपुर फाईनान्स लिमिटेडबीच प्राप्तिको लागि २०७७ पौष २३ गते प्रारम्भिक संम्झौता सम्पन्न भएको थियो । एकिकृत कारोबार पश्चात् विभिन्न १० शाखा कार्यालय र १ विस्तारित काउण्टरबाट आफ्नो सेवा प्रवाह गर्ने छ भने, डिजिटल बैंकिंग एटिएम कार्ड संचालनको लागि समेत सम्पूर्ण तयारी पुरा गरिसकेको, आगामी बर्षमा समेत शाखा विस्तारको रणनीति लिएको र देशका विभिन्न स्थानहरुमा १० वटासम्म शाखाहरु संचालनमा ल्याउने गरी प्रकृया अगाडी बढाइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलियाले बताउनुभयो ।