जीवन विकास लघुवित्तको आईपीओ साउन पहिलो साता सूचीकृत गरिने, पहिलो दिन नै प्रतिकित्ता १ हजार रुपैयाँ पुग्ला त ? « Arthapath.com
२९ असार २०७८, मंगलवार

जीवन विकास लघुवित्तको आईपीओ साउन पहिलो साता सूचीकृत गरिने, पहिलो दिन नै प्रतिकित्ता १ हजार रुपैयाँ पुग्ला त ?



काठमाडौं । जीवन विकास लघुवित्तको आईपीओ नयाँ आर्थिक बर्षमा मात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने भएको छ । सर्वसाधारणलाई प्राथमिक सेयर बिक्री गरेको कम्पनीले साउन पहिलो साता सूचीकृत गरिने जीवन विकास लघुवित्त वित्तीय संस्थाले जनाएको छ । संस्थाका अनुसार अहिले रकम संकलनको काम भैरहेकाले साउन १ गतेका दिन आईपीओ सूचीकृत गर्ने गरि तयारी भैरहेको छ ।

जीवन विकास लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत भएपछि पहिलो सेयर कारोबार न्युनतम प्रतिकित्ता ३०५ रुपैयाँ २७ पैसा र अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्म रेञ्ज तोक्न सक्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । यदि कम्पनीको आईपीओ स्पेसल प्री–ओपनिङ सेसनमा अधिकतम मूल्यमा कारोबार भएमा पहिलो दिन नै १ हजार रुपैयाँ पुग्ने सम्भावना रहेको छ । त्यो भने नेप्सेमा सूचीकृत पश्चात् पहिलो कारोबार भएपछि मात्रै थाहा हुनेछ ।

जीवन विकास लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड सम्पन्न भैसकेको छ ।
बाँडफाँड गर्दा १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले आईपीओ पाएका छन् भने ५ जनाले ११ कित्ता शेयर पाएका छन् ।

कम्पनीको आईपीओमा कूल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएका थिए ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।


प्रतिक्रिया दिनुहोस्