मेवा खोलामा सिटिजन्स बैंकको अगुवाईमा ७ बैंकले ७ अर्ब रुपैयाँ ऋण लगानी गर्ने « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

मेवा खोलामा सिटिजन्स बैंकको अगुवाईमा ७ बैंकले ७ अर्ब रुपैयाँ ऋण लगानी गर्ने



काठमाडौं । ५० मेगावाटको मेवा खोला जलविद्युत आयोजनामा ७ बैंकले ऋण लगानी गर्ने भएका छन् । प्रदेश नम्बर १ को ताप्लेजुङमा निर्माण हुने आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा कुमारी, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रचर, सिद्धार्थ नेपाल एसबिआइ र सिभिल बैैंकले ७ अर्ब (६ अर्ब ७५ करोड अद्यावधिक कर्जा र २५ करोड चालु पँजी कर्जा) रुपैयाँ ऋण लगानी भएका हुन् ।

आयोजनाको प्रवद्र्धक युनाइटेड मेवा खोला हाइड्रोपावर र ऋण लगानी गर्ने बैंकहरूबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । आयोजनामा बैंकहरूले गर्न लागेको लगानी कूल लागतको ७५ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

सिटिजन्स बैंकले.१ अर्ब ४५ करोड, कुमारी बैंकले १ अर्ब, मेगा बैंक नेपालले १ अर्ब, नेपाल इन्फ्रास्ट्रचर बैंकले १ अर्ब, नेपाल एसबिआइ बैंकले ८० करोड, सिद्धार्थ बैंकले १ अर्ब र सिभिल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ । बाँकी २५ प्रतिशत (२ अर्ब रुपैयाँ) स्वपुँजी लगानी रहनेछ ।

आयोजना सम्पन्न गर्न ९ अर्ब रुपैयाँ लागन अनुमान गरिएको छ । आयोजनाका निर्माण गर्न नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, उद्योग विभाग, वन तथा वातावरण मन्त्रालयबाट गर्नुपर्ने सबै कानुनी प्रक्रिया पूरा भइसकेको छ । अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक निर्माण भइसकेको छ ।

निर्माण सुरु गरेको ३ वर्षमा आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट हिउँदमा ९७.४२४ गिगावाट घन्टा र बर्खामा २०५.५८७ गिगावाट गरी बार्षिक ३०३.०११ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत प्राधिकरणको कोसी कोरिडोरको ढुङगेसाँघु सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्