नबिल बैंकले देशभरिका विभिन्न २० ठाउँमा शाखा विस्तार गर्दै, वित्तीय पहुँचका साथै रोजगारीको पनि अवसर

काठमाडौं । मुलुकको १ नम्वर वाणिज्य बैंकको रुपमा रहेको नबिल बैंकले आक्रामक रुपमा शाखा विस्तार गर्ने भएको छ । शाखासञ्जाल विस्तारमा एनआईसी एशिया बैंकले आफूलाई ठूलो दावी गरिरहेका बेला नबिल बैंकले पनि एकै पटक करिब २ दर्जन शाखा विस्तार गर्ने भएको हो । बैंकले देशभरिका विभिन्न स्थानमा एकै पटक २० वटा शाखा विस्तार गर्ने भएको हो । बैंकले सूचना जारी गरि एकैपटक २० स्थानमा शाखा सञ्चालनमा ल्याउने तयारी थालेको हो ।
बैंकले २० वटा शाखा विस्तार गरेमा केही संख्यामा रोजगारीको अवसर पनि मिल्नेछ । बैंकले शाखा कार्यालयका लागी कर्मचारी राख्न सक्ने भएकाले वित्तीय पहुँचका साथै रोजगार मिल्ने आशा छ । त्यसैले शाखा विस्तार भएपछि रोजगारीको पनि अवसर मिल्नेछ ।
बैंकले शाखा कार्यालय विस्तार गर्न भवन भाडाका प्रस्ताव आह्वान गरेको हो । प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय सञ्चालानार्थ भुइँ तल्ला वा पहिलो तल्लाको ८०० देखि १ हजार २०० वर्गफिट क्षेत्रफल भएको भवन भाडामा उलब्ध गराउन इच्छुक घरधनीहरुलाई शिलबन्दी प्रस्ताव पृश गर्न बैंकले आह्वान गरेको हो ।
बैंकले काठमाण्डौको धुम्बाराही र मूलपानी, ललितपुरको गुसिंगल, भक्तपुरको दुवाकोट, मोरङको विराटनगरस्थित पुष्पलाल चोक, बाराको जितपुर, मकवानपुरको हेटौँडास्थित चिसापानी, कास्कीको पोखरास्थित मालेपाटन र सुनसरीको रामधुनीस्थित झुम्का, झापाका गौरीगन्जस्थित गौरीगन्ज, मेचीनगरको काँकरभिट्टा र ककनीको सुरुंगा, धनुषाको छिरेश्वरनाथस्थित महेन्द्रनगर र मिथिलास्थित ढल्केबर, चितवनको राप्तीस्थित भण्डारा, रुपन्देहीका देवदहस्थित खैरेनी र सैनामैनास्थित मुर्गिया, बाँकेको खजुरास्थित खजुरा, सल्यानको शारदास्थित सितलपाटी र कञ्चनपुरको बेलैरीस्थित बेलैरी बजारमा शाखा विस्तारका भाडाको घर खोजेको हो ।
बैंकले खोजेको घरहरुमा पानी, बिजुली तथा पार्किङको सुविधासहित घटीमा ६ मिटर चौडाइको मोटर बाटो हुनुपर्ने सर्त राखेको छ । घरधनीहरुले भवन निर्मित जग्गाको जग्गाधनी प्रमाणपत्र पूर्जाको प्रतिलिपि, भाडामा दिन चाहेको भवन रहेको स्थानको पूर्णविवरण, भवनको स्वीकृत नक्सा, भवनको निर्माण सम्पन्न भएको प्रमाणपत्र, फोटो पिलर सिस्टमबाट बनेको र बैंक सञ्चालन गर्न उपयुक्त हुनुपर्ने तथा घरधनी र सम्पर्क व्यक्तिको नाम, सम्पर्क टेलिफोन नम्बर, ठेगाना र नागरिकताको प्रतिलिपिजस्ता कागजपत्र पेस गर्नुपर्ने हुन्छ ।
पछिल्लो समय कोरोना महामारीका बीच पनि बैंकले शाखा विस्तार गर्ने योजना ल्याएको हो । बैंकले सञ्चालनमा ल्याउन लागेका शाखामार्फत जनतामा वित्तीय पहुँच बृद्धि हुने विश्वास लिएको छ । बैंकले हाल देशैभरिमा १२६ वटा शाखा कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको छ ।