भारतीय प्रधानमन्त्री मोदीलाई चेतावनी यस्ता घटना दोहोर्याएमा कडा कदम चाल्छौँः राप्रपा युवा संगठन « Arthapath.com
१९ श्रावण २०७८, मंगलवार

भारतीय प्रधानमन्त्री मोदीलाई चेतावनी यस्ता घटना दोहोर्याएमा कडा कदम चाल्छौँः राप्रपा युवा संगठन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले जयसिंह धामीको हत्यारालाई तत्काल कारबाही गर्न माग गरेको छ । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र बुझाउन नेपाल स्थित भारतीय दूतावास जयसिंह धामीको हत्यारालाई कारबाही गर्न माग गरेको हो । 

मंगलबार नारा जुलुस गर्दै राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका केन्द्रिय अध्यक्ष राजु लोहनीले जयसिंह धामीको हत्या गरिएकोप्रति चुप लागेर नबस्ने बताए । अध्यक्ष लोहनीले भने, ‘भारतको हेपाहा प्रबृत्ति सहेर राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बस्दैन्, अहिले मात्रै नभएर पटक पटक सिमा मिच्ने, गोली हान्ने र सिमा नजिक रहेका नेपाली नागरिकलाई दिएको दुःखप्रति हात बाँधेर दही जमाएर बस्ने छैन् ।’ अबका दिनमा यस्ता घटना दोहोर्याएमा भारत विरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् । लामो समयदेखि हेपाहा प्रवृत्ति देखाउँदै आएको भारतप्रति राष्ट्रवादी युवाहरू सचेत भैसकेको समेत लोहनीले बताए । सरकारले बनाएको छानविन समितिले भारतीय विस्तारवादको अगाडि घुँडा टेकेर जालझेल गर्यो भने सङ्गठनले कडा आन्दोलन गर्ने अध्यक्ष लोहनीले बताए । 

गत १५ गते दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा पर्ने महाकाली नदीमा जयसिंह धामी तुइन तरिरहेका बेलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी) ले तुइन काटेर नदीमा खसालेर बेपत्ता पारेका थिए । 
र्
नेपाल तर्फबाट महाकाली नदीको आधा भागमा पुगेका जयसिंह एसएसबीले भारतपट्टि बाँधिएको तुइन काटिदिएपछि नदीमा तारसँगै बेरिएर झरी बेपत्ता भएका थिए । उक्त कायरतापूर्वक कार्यबाट जयसिंह धामीको नदिको बहावसँगै बेपत्ता भई मृत्यु भएको छ । सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले छिमेकी मुलुकका एक नागरिकलाई हत्या गर्ने कार्यप्रति हामी नेपाली युवा घोर निन्दा र भत्सर्ना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । 

सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले पटकपटक नेपाली नागरिकलाई दुःख दिदै आएकोप्रति सङ्गठनले भारतको विरोध गरेको हो । युवक सङ्गठनले विज्ञप्तिमा भनेको छ, ‘भारतीय सुरक्षाकर्मीले पटकपटक नेपालको सिमा अतिक्रमण गर्ने, अनधिकृत रुपमा नेपाल प्रवेश गर्ने, नेपाल-भारत आवतजावत गर्ने नेपालीलाई अवरोध गर्ने, कुटपिट गर्नेदेखि गोली हानी हत्या गर्नेसम्मको कार्यबाट मानवअधिकार र अन्तराष्ट्रिय कानुन समेतको ठाडो उल्लङ्घन भएको छ ।’

राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताप्रतिको सचेत र संवेदनशील रहेकाले दोषीलाई कडा कारवाही गर्न, सिमा अतिक्रमण बन्द गर्न, सिमानामा हुने ज्यादतीको अन्त्य गर्न, पीडितलाई उचित क्षतिपूर्ति दिन समेत राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन भारत सरकारसँग माग गरेको छ । 

विज्ञप्तिमा भनिएको छ “विगतमा पनि गोविन्द गौतमजस्ता थुप्रै युवाहरूले भारतीय ज्यादतीबाट ज्यान गुमाउन पुगेका छन् भने आजसम्म कुनै हत्याराको भारत सरकारले कारबाही गरेको छैन्, यस्ता अमानवीय घटनाले दुई देश र दुई देशका नागरिक बीचको सम्बन्धमा समेत प्रतिकुल असर पर्दछ । आफ्नो देशको सुरक्षाकर्मीबाट कायरतापूर्वक रुपमा छिमेकी देशको युवालाई हत्या गरिदा समेत कुनै कारबाही नहुनु, पीडितका परिवारले क्षतिपूर्ति नपाउनु भारतजस्तो ठूलो प्रजातान्त्रिक मुलुकका लागि अत्यन्त लज्जास्पद विषय हो । यस्ता घटना घटाउने अपराधीलाई भारतीय सरकारले अविलम्ब कारबाही गरोस् ।”


प्रतिक्रिया दिनुहोस्